Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

काभ्रेमा बर्डफ्लुको प्रकोप: ४० हजारभन्दा बढी हाँस-कुखुरा नष्ट


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा बर्डफ्लु सङ्क्रमण फैलिँदै गएपछि हालसम्म ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको छ।

जिल्ला पशु सेवा कार्यालय धुलिखेलका अनुसार पछिल्ला केही सातायता विभिन्न व्यावसायिक पोल्ट्री फार्ममा पक्षीहरू अस्वाभाविक रूपमा मर्न थालेपछि परीक्षणका क्रममा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको हो।सङ्क्रमण बनेपा नगरपालिका–६ र १३ तथा पनौती नगरपालिका–७, ८ र ९ का पोल्ट्री फार्ममा देखिएको वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरले जानकारी दिए।

उनका अनुसार सङ्क्रमित कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिले रोग फैलिन थप सहयोग पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। त्यस्ता पक्षीलाई काग तथा अन्य जङ्गली चराले खाँदा सङ्क्रमण अन्य क्षेत्रमा फैलिने जोखिम बढेको उनले बताए।

सङ्क्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा परीक्षण, व्यवस्थापन र कुखुराको ओसारपसारमा कडाइ गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ। यद्यपि, प्रयोगशालाबाट परीक्षण प्रतिवेदन आउन ढिलाइ हुँदा स्थानीय तहलाई समयमै आवश्यक कदम चाल्न चुनौती थपिएको बताइएको छ।

अवैध ओसारपसार रोक्न नाला, रोशी र खावा चेकपोस्टमा निगरानीसमेत बढाइएको छ। सम्बन्धित निकायले पोल्ट्री व्यवसायीलाई जैविक सुरक्षा (बायोसेक्युरिटी) सम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।

डा. ठाकुरका अनुसार खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्ने, सुरक्षात्मक सामग्री प्रयोग गरेर मात्र प्रवेश गर्ने, खोर तथा उपकरण नियमित रूपमा सफा गर्ने र कुखुरा ओसारपसार गर्दा सरसफाइका मापदण्ड पालना गर्नुपर्ने आवश्यक छ।

यसअघि गत चैतमै सिन्धुपाल्चोक र काभ्रे क्षेत्रमा बर्डफ्लुको जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउने निर्णय गरिएको थियो। पछिल्लो सङ्क्रमणपछि नियन्त्रण र रोकथामका उपायलाई थप प्रभावकारी बनाइएको जनाइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट