कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गरेको छ। सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटो र प्रविधिमैत्री बनाउने उद्देश्यले मन्त्रालयले डिजिटल सरुवा प्रणाली कार्यान्वयनमा ल्याएको हो।
मन्त्रालयका अनुसार नयाँ प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ। कर्मचारीका व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत जोडिने भएकाले आवश्यक सूचना स्वतः अद्यावधिक हुने व्यवस्था गरिएको छ।
सरुवा आवेदन व्यवस्थापनका लागि प्रणालीमा ‘फ्ल्यागिङ सिस्टम’ पनि समावेश गरिएको छ। यसले दोहोरिएका, विशेष निगरानी आवश्यक भएका वा थप परीक्षण गर्नुपर्ने आवेदनको सहज पहिचान गर्न मद्दत गर्ने मन्त्रालयको भनाइ छ।यस्तै, कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी ‘प्रोसेस ट्र्याकिङ सिस्टम’ मार्फत अनलाइनबाटै प्राप्त गर्न सक्नेछन्। सरुवासम्बन्धी सम्पूर्ण पत्राचार र कागजात पनि प्रणालीबाटै स्वचालित रूपमा तयार हुने व्यवस्था गरिएको छ।
आवश्यकता अनुसार अन्य सम्बन्धित निकायका सूचना प्रणालीसँग एपीआईमार्फत सूचना आदान–प्रदान गर्न सकिने व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ। साथै, सरुवासम्बन्धी निर्णय तथा विवरण मन्त्रालयको वेबसाइटमा २४ घण्टाभित्र स्वतः सार्वजनिक गरिने व्यवस्था रहनेछ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिलामन्त्री प्रतिभा रावलले कर्मचारी प्रशासनलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने सरकारी नीतिअनुसार डिजिटल सरुवा प्रणालीलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिएको बताइन्।
उनले यो प्रणाली पूर्ण रूपमा लागू भएपछि सरुवा प्रक्रियामा हुने ढिलाइ न्यूनीकरण हुने, पारदर्शिता अभिवृद्धि हुने तथा कर्मचारीले थप सहज र विश्वासिलो सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया