समयमै काम नसक्ने ओमबुद्ध कन्स्ट्रक्सन सहित ९ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिर्ताहरूलाई कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको यस निकायले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम मंगलबार (हिजो)को निर्णयानुसार ती कम्पनीहरूलाई कालो सूचीमा राख्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।
सूचना अनुसार, सबैभन्दा लामो अवधिका लागि ओमबुद्ध कन्स्ट्रक्सन प्रा.लि. (दोलखा) लाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ। यसैगरी, लोहनी एण्ड ब्रदर्श प्रा.लि. (चितवन), सेभिका कन्स्ट्रक्सन एण्ड ईन्जिनियरिङ कन्सल्टेन्सी (सुर्खेत) र राजेन्द्र/थेगिम जे.भी. (कैलाली) लाई १ वर्ष ६ महिनाका लागि प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै, १ वर्षको अवधिका लागि कालोसूचीमा पर्नेहरूमा कृष्ण कन्स्ट्रक्सन (जाजरकोट), सेभिका/बेहडाबाबा जे.भी. (कैलाली), विजयश्वरी निर्माण सेवा (जाजरकोट), दिनकर कन्स्ट्रक्सन प्रा.लि. (सर्लाही) र ललिता अम्बाय सप्लायर्स एण्ड कन्स्ट्रक्सन कम्पनी (इलाम) रहेका छन् ।
यी कम्पनीहरूलाई विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कालो सूचीमा राखिएको हो ।
कालो सूचीमा राखिएको अवधिभर ती निर्माण व्यवसायी वा आपूर्तिर्ताहरूले मुलुकभरका कुनै पनि सार्वजनिक निकायको खरिद कारबाही वा बोलपत्र प्रक्रियामा भाग लिन पाउने छैनन् ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया