Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

मधेस प्रदेशसभा अवरुद्ध: बजेट संशोधन नभएसम्म संसद् चल्न नदिने विपक्षीको अडान


जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक विपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालले अवरुद्ध गरेको छ। बुधबार बसेको सातौँ अधिवेशनको १३औँ बैठकमा जसपाका सांसदहरूले उभिएर विरोध जनाएपछि बैठकको कारबाही अगाडि बढ्न सकेन।

प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न बैठक बोलाइएको थियो। तर, बैठक सुरु हुनासाथ जसपाका सांसद उपेन्द्र महतोले बजेटका प्रावधानप्रति गम्भीर आपत्ति जनाउँदै संशोधनको माग गरे। सांसद महतोले सरकारले एक करोड रुपैयाँभन्दा कमका योजना नल्याउने भनी गरेको पूर्वघोषणा बजेटमा कार्यान्वयन नभएको आरोप लगाए। सार्वजनिक भएको बजेटमा १०, २० र ३५ लाख रुपैयाँका साना योजनाहरू समावेश गरिएको भन्दै उनले यो नियम विपक्षी दलका लागि मात्र लागू भएको जिकिर गरे।

सांसद महतोले बजेटको कार्यान्वयन प्रक्रियामाथि पनि प्रश्न उठाए। उनले एउटै योजनामा फरक–फरक प्रकृतिका पाँचवटा साना योजनाहरू मिसाएर बजेट विनियोजन गरिएको र जिल्लास्थित कार्यालयहरूलाई अधिकारविहीन बनाई सबै योजना मन्त्रालयमा मात्र केन्द्रित गरिएको गुनासो गरे।

‘यो बजेट मन्त्रिमुखी, सत्तामुखी र सत्तापक्षीय सांसदमुखी छ,’ सांसद महतोले भने, ‘कुल मिलाएर यो बजेट संघीयताको मर्मविपरीत छ। तसर्थ, सरकारले बजेट संशोधन गरेर नल्याएसम्म हामी संसद् चल्न दिने छैनौँ।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट