यात्रु अभावले पहाडी विमानस्थलमा नियमित उडान चुनौतीपूर्ण : पर्यटनमन्त्री पौडेल
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलले यात्रुको अभावका कारण देशका अधिकांश पहाडी विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन गर्न कठिनाइ भइरहेको बताएका छन्।
बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री पौडेलले पहाडी क्षेत्रका विभिन्न विमानस्थलबाट प्राप्त विवरणअनुसार नियमित उडान नहुनुको प्रमुख कारण पर्याप्त यात्रु नहुनु रहेको स्पष्ट पारे।उनका अनुसार मुलुकभर रहेका ५५ विमानस्थलमध्ये हाल ३४ वटा सञ्चालन योग्य अवस्थामा छन् भने २१ वटा विमानस्थल बन्द अवस्थामा रहेका छन्।
मन्त्री पौडेलले कालीकोटस्थित सुनथराली विमानस्थलसहित अन्य दुर्गम तथा पहाडी क्षेत्रका विमानस्थलमा नियमित यात्रु सुनिश्चित भए आवश्यक प्राविधिक जनशक्ति, सञ्चार उपकरण तथा अन्य पूर्वाधार व्यवस्थापन गर्न सरकार तयार रहेको बताए।उनले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आवश्यक जनशक्ति र उपकरणको अभाव नरहेको उल्लेख गर्दै उडान सञ्चालन नभएका विमानस्थलमा जनशक्ति राख्नुको सट्टा हाल नियमित उडान भइरहेका विमानस्थलमा परिचालन गरिएको जानकारी दिए।
मन्त्री पौडेलले यात्रुको संख्या वृद्धि र नियमित हवाई सेवाको माग सुनिश्चित भए सरकारले आवश्यक व्यवस्थापन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि व्यक्त गरे।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया