चीनको सेनालाई बलियो बनाउने सी जिनपिङको वाचा
चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गरेका छन् ।
पार्टीको १०५औँ स्थापना वार्षिकोत्सवको अवसरमा ग्रेट हल अफ द पिपुलमा भेला भएका राजनीतिक तथा सैन्य नेताहरूका साथै चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का सदस्यहरूलाई सम्बोधन गर्दै उनले ‘बलियो सेना’ को महत्त्वलाई जोड दिएको समाचार संस्था एएफपीले जनाएको छ ।
राष्ट्रपति सीको भ्रष्टाचार विरोधी अभियानले शीर्ष पदका व्यक्तिहरूलाई हटाएपछि विश्लेषकहरूले चीनको सशस्त्र सेनाको प्रभावकारी रूपमा लड्ने क्षमतामाथि प्रश्न उठाएका छन् ।
भ्रष्टाचार निर्मूल पार्ने सीको वर्षौँ लामो प्रयासले विगत ३ वर्षमा २ जना रक्षामन्त्री पदच्युत भएका छन् र एक समय ७ सदस्यीय केन्द्रीय सैन्य आयोग २ जनामा सीमित भएको छ । चीनको शीर्ष सैन्य निकायमा अहिले सी र अर्का १ जना जनरल छन्।
चिनियाँ नेताले सशस्त्र सेनामाथि ‘पार्टीको पूर्ण नेतृत्वलाई कायम राख्ने’ र सेनालाई बलियो बनाउने बताए ।
यसअघि मे महिनामा केन्द्रीय सैन्य आयोगले वरिष्ठ सैन्य अधिकारीमाथि कडा शिक्षा, व्यवस्थापन र निगरानी लागू गर्ने नयाँ व्यवस्था सार्वजनिक गरेको थियो ।
सम्बोधनका क्रममा सीले ताइवान चीनको अभिन्न हिस्सा रहेको दोहोर्याउँदै ताइवानसँगको पूर्ण एकीकरण चिनियाँ कम्युनिस्ट पार्टीको ऐतिहासिक लक्ष्य र सम्पूर्ण चिनियाँ नागरिकको साझा आकाङ्क्षा भएको बताउनुभयो । कुनै देशको नाम उल्लेख नगरी उहाँले बाह्य शक्तिको हस्तक्षेपको दृढतापूर्वक प्रतिरोध गर्न पनि आह्वान गरे ।
चिनियाँ कम्युनिस्ट पार्टी सन् १९२१ जुलाई १ मा स्थापना भएको हो । सन् २०२५ को अन्त्यसम्म यसका १० करोड १० लाखभन्दा धेरै सदस्य रहेका सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया