Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

इरान नीतिमा अमेरिका–इजरायलबीच बढ्यो रणनीतिक मतभेद


काठमाडौं । इरानसँगको युद्ध अन्त्य र हर्मुज जलडमरूमध्यलाई पुनः सञ्चालनमा ल्याउने विषयमा अमेरिका र इजरायलबीच रणनीतिक मतभेद देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। अमेरिकी पत्रिका द वासिङ्टन पोस्टद न्युयोर्क टाइम्स का रिपोर्टअनुसार इजरायलको सम्भावित सैन्य योजनाप्रति वासिङ्टनले असन्तुष्टि जनाएको बताइएको छ।

रिपोर्टहरूमा उल्लेख भएअनुसार अमेरिकाले इरानसँग उच्चस्तरीय वार्ता गरिरहेका बेला इजरायलले इरानी शीर्ष राजनीतिक नेतृत्वमाथि कारबाही गर्ने योजना बनाएको आशंका अमेरिकी अधिकारीहरूले गरेका थिए। त्यसपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै वासिङ्टनले मध्यस्थकर्ता मुलुकमार्फत तेहरानलाई गोप्य सूचना उपलब्ध गराएको दाबी गरिएको छ।अमेरिकी पक्षका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघची र संसद्का सभामुख मोहम्मद बगेर गालिबाफ सम्भावित निशानामा रहेको आशंका गरिएको थियो। उनीहरूलाई इरानको वार्ता प्रक्रियामा तुलनात्मक रूपमा व्यावहारिक नेतृत्वका रूपमा हेरिएको बताइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उद्धृत गरेका अमेरिकी अधिकारीहरूका अनुसार वार्ताका प्रमुख पात्रहरूलाई हटाइएमा शान्ति प्रक्रियामै असर पुग्ने र क्षेत्रीय तनाव थप चर्किन सक्ने चिन्ता वासिङ्टनमा रहेको थियो।यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इजरायलको आक्रामक रणनीतिप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेको उल्लेख गरिएको छ। उनले इरानसँगको वार्तालाई निरन्तरता दिनुपर्ने धारणा राख्दै थप राजनीतिक नेतृत्वको क्षति नचाहेको बताएको रिपोर्टमा जनाइएको छ।

न्युयोर्क टाइम्स ले सार्वजनिक गरेको अर्को विवरणअनुसार अप्रिलमा इरानी सभामुख गालिबाफ पाकिस्तानमा भएको गोप्य भेटवार्तापछि स्वदेश फर्किने क्रममा सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै विशेष सुरक्षा व्यवस्था अपनाइएको थियो। अमेरिकी गुप्तचर निकायबाट प्राप्त सूचनापछि उनको यात्रा मार्ग परिवर्तन गरिएको दाबी गरिएको छ।

विश्लेषकहरूका अनुसार अमेरिका र इजरायलबीचको मतभेदको मुख्य कारण इरानप्रतिको दीर्घकालीन रणनीतिमा रहेको फरक दृष्टिकोण हो। सुरुआतमा दुवै पक्ष सत्ता परिवर्तनको एजेन्डामा सहमत भए पनि पछिल्लो समय वासिङ्टनले कूटनीतिक समाधान र क्षेत्रीय स्थायित्वलाई प्राथमिकता दिन थालेको बताइएको छ।अमेरिकाले युद्ध अन्त्य, हर्मुज जलडमरूमध्यको सञ्चालन तथा आणविक कार्यक्रमसम्बन्धी सहमतिमार्फत आर्थिक प्रतिबन्धमा सहुलियत दिने विकल्पमा जोड दिएको जनाइएको छ। यद्यपि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू भने इरानमाथि कडा नीति कायम राख्नुपर्ने पक्षमा रहेको अन्तर्राष्ट्रिय विश्लेषणहरूमा उल्लेख गरिएको छ।

ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले राष्ट्रपति ट्रम्प शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको बताएका छन्। तर, आफ्नै निकट सहयोगी इजरायलसँग देखिएको रणनीतिक मतभेदले आगामी दिनमा दुई देशबीचको कूटनीतिक सम्बन्धमा नयाँ बहस सिर्जना गर्ने अनुमान गरिएको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट