Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

मेलोनीको आलोचना गर्दा ट्रम्पलाई परेको उल्टो प्रभाव


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीप्रति सार्वजनिक रूपमा व्यक्त गरेको आलोचनाले अपेक्षाविपरीत युरोपेली राजनीतिक वृत्तमा मेलोनीको समर्थन बढाएको विश्लेषण सार्वजनिक भएका छन्। ट्रम्पको टिप्पणीपछि युरोपेली मुलुकहरूबीच एकता र सहकार्य थप सुदृढ भएको बताइएको छ।विश्लेषकहरूका अनुसार ट्रम्पले मेलोनीको विश्वसनीयतामाथि प्रश्न उठाउँदै उनको राजनीतिक भूमिकामाथि टिप्पणी गरेपछि युरोपेली नेताहरू एकजुट हुँदै उनको पक्षमा उभिएका हुन्। यसले रक्षा, सुरक्षा, व्यापार तथा विदेश नीतिमा युरोपेली सहकार्यलाई नयाँ गति दिएको आकलन गरिएको छ।

विगतमा दक्षिणपन्थी राजनीतिक पृष्ठभूमिका कारण मेलोनीसँग दूरी कायम राख्ने केही युरोपेली मुलुकसमेत अहिले सहकार्य विस्तार गर्ने पक्षमा देखिएका छन्। युक्रेन युद्ध, इरानसँगको तनाव, चीनसँगको व्यापारिक चुनौती र रुसबाट उत्पन्न सुरक्षा जोखिमले युरोपेली राष्ट्रहरूलाई साझा रणनीतिमा केन्द्रित हुन बाध्य बनाएको विश्लेषकहरूको भनाइ छ।

जर्मन मार्सल फन्डकी उपाध्यक्ष सुधा डेभिड–विल्पले अमेरिका र चीनबीचको बढ्दो प्रतिस्पर्धाका बीच युरोपले आफ्नो प्रभाव कायम राख्न सामूहिक रूपमा अघि बढ्नुपर्ने आवश्यकता महसुस गरेको बताएकी छन्। यही विषय आगामी नाटो शिखर सम्मेलनमा पनि प्रमुख एजेन्डा बन्न सक्ने अनुमान गरिएको छ।

ट्रम्पसँगको विवादपछि मेलोनीले युरोपेली नेताहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाएको बताइएको छ। उनले गत मार्चमा संसद्को स्वीकृतिबिना सिसिलीस्थित सैन्य अड्डा अमेरिकी बमवर्षक विमानलाई प्रयोग गर्न नदिने निर्णय गरेकी थिइन्, जसलाई युरोपेली स्वायत्तताको संकेतका रूपमा हेरिएको छ।पछिल्ला महिनाहरूमा मेलोनी जर्मनी, फ्रान्स, बेलायत र पोल्यान्डका शीर्ष नेताहरूसँग नियमित संवाद र समन्वयमा सक्रिय देखिएकी छन्। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको उच्चस्तरीय भेटवार्ताले पनि युरोपभित्र उनको राजनीतिक स्वीकार्यता बढेको संकेत दिएको विश्लेषण गरिएको छ।

युरोपका राष्ट्रवादी दलहरूले समेत ट्रम्पप्रतिको धारणा परिवर्तन गर्न थालेका छन्। फ्रान्सका दक्षिणपन्थी नेता जोर्डन बार्डेलाले अमेरिकी नीतिलाई विदेशी हस्तक्षेपको संज्ञा दिँदै ट्रम्पको नेतृत्व शैलीमाथि प्रश्न उठाएका छन् भने जर्मनीको अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीले इरानविरुद्धको अमेरिकी सैन्य अभियानको आलोचना गरेको छ।

विश्लेषकहरूका अनुसार आगामी निर्वाचनलाई लक्षित गर्दै युरोपका राष्ट्रवादी दलहरूले अन्तर्राष्ट्रिय मुद्दाभन्दा घरेलु एजेन्डालाई प्राथमिकता दिन थालेका छन्। ट्रम्पको प्रभाव युरोपेली सङ्घबाहिरका क्षेत्रमा समेत देखिएको उल्लेख गरिएको छ।ग्रिनल्यान्डमाथिको नियन्त्रणसम्बन्धी ट्रम्पको अभिव्यक्तिपछि डेनमार्क र ग्रिनल्यान्डमा विरोध प्रदर्शन भएका थिए भने अल्बानियामा ट्रम्प परिवारसँग सम्बन्धित एक विलासी परियोजनालाई लिएर राजनीतिक बहस चर्किएको थियो। हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले पनि ट्रम्पसँगको निकट सम्बन्धका कारण आन्तरिक दबाब सामना गरिरहेको विश्लेषण सार्वजनिक भएको छ।

यद्यपि आप्रवासन र सुरक्षाका केही मुद्दामा मेलोनी र ट्रम्पबीच समान धारणा रहे पनि युक्रेन युद्धको विषयमा मेलोनी युरोपेली साझेदारहरूसँग नजिक रहेको बताइन्छ। उनले युक्रेनलाई निरन्तर समर्थन गर्दै आएकी छन्, जसले युरोपसँगको सम्बन्धलाई थप मजबुत बनाएको छ।

ट्रम्पसँगको सार्वजनिक विवादपछि मेलोनीले उक्त सम्बन्धले आफ्नो लोकप्रियतामा कुनै विशेष लाभ नपुगेको प्रतिक्रिया दिएकी थिइन्। प्यु रिसर्च सेन्टरको पछिल्लो सर्वेक्षणअनुसार इटालीका ८३ प्रतिशत नागरिकले ट्रम्पको विदेश नीतिप्रति विश्वास व्यक्त नगरेको जनाइएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार सन् २०२७ को राष्ट्रिय निर्वाचन नजिकिँदै जाँदा ट्रम्पसँगको सम्बन्ध, इरान संकट तथा विश्वव्यापी आर्थिक प्रभावहरू मेलोनीका लागि चुनौती बन्न सक्नेछन्। रोमस्थित ल्युइस विश्वविद्यालयका विश्लेषक लोरेन्जो क्यास्टेलानीले इन्धनलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको राजनीतिक असर अन्ततः सत्तारूढ सरकारमाथि पर्ने बताएका छन्।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट