काठमाडौं । रुसी सेनाले युक्रेनको राजधानी किभमा हालसम्मकै ठूलो हवाई आक्रमण गरेपछि हजारौँ नागरिकले सुरक्षित आश्रयको खोजीमा भूमिगत मेट्रो स्टेशनहरूमा रात बिताएका छन्।
ब्यालिस्टिक र क्रुज मिसाइलसँगै आत्मघाती ड्रोनमार्फत रुसले आक्रमण तीव्र बनाएपछि ४० हजारभन्दा बढी स्थानीय बासिन्दा बालबालिका, घरपालुवा जनावर र अत्यावश्यक सामग्रीसहित मेट्रो स्टेशनमा शरण लिन पुगेका हुन्।युक्रेनी वायुसेनाले सम्भावित व्यापक आक्रमणको चेतावनी जारी गरेपछि राजधानीभरि खतरा सूचक साइरन बजाइएको थियो। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि गुप्तचर प्रतिवेदनलाई उद्धृत गर्दै मस्कोले ठूलो आक्रमणको तयारी गरिरहेको उल्लेख गरेका थिए।
साइरन बज्नासाथ किभका विभिन्न क्षेत्रका बासिन्दा भूमिगत स्टेशनतर्फ ओइरिएका थिए। धेरैले प्लेटफर्म, भर्याङ र खुला स्थानमै ओछ्यान लगाएर रात बिताएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।किभ मेट्रो प्रशासनका अनुसार राजधानीका सबै ४६ वटा भूमिगत स्टेशन २४सै घण्टा सर्वसाधारणका लागि खुला राखिएका छन्। भीड बढेपछि नागरिकहरूलाई कम भीड भएका वैकल्पिक आश्रयस्थल प्रयोग गर्न आग्रह गरिएको थियो।
स्टेशनभित्रको तापक्रम १७ देखि १८ डिग्री सेल्सियस रहने भएकाले नागरिकहरूलाई न्यानो कपडा, कम्बल र म्याट साथमा ल्याउन सुझाव दिइएको थियो। धेरैले मोबाइल फोनमार्फत बाहिरको अवस्थाबारे जानकारी लिँदै र बालबालिकालाई खेलौना तथा भिडियोमार्फत व्यस्त राख्दै रात बिताएका थिए।
भूमिगत संरचनामा सुरक्षित भए पनि माथिबाट भएका विष्फोटका आवाज स्पष्ट सुनिने गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। त्यसले बालबालिकादेखि वृद्धवृद्धासम्ममा त्रास बढाएको उनीहरूको भनाइ छ।किभ सहर सैन्य प्रशासनका प्रमुख तिमुर त्काचेन्कोका अनुसार संयुक्त हवाई आक्रमणले राजधानीका सबै १० जिल्ला प्रभावित भएका छन्। विभिन्न आवासीय भवनमा आगलागी भएको छ भने केही धेरै तले भवनहरू आंशिक रूपमा भत्किएका छन्।
मेयर भिटाली क्लित्स्कोले कम्तीमा आठ जनाको मृत्यु भएको र ३० भन्दा बढी घाइते भएको जानकारी दिएका छन्। घाइतेमध्ये पाँच जना स्वास्थ्यकर्मी रहेका छन्, जसमा एक प्यारामेडिकको अवस्था गम्भीर रहेको जनाइएको छ।शेभचेन्किभ्स्की जिल्लाको एम्बुलेन्स स्टेशन र दार्नित्स्या क्षेत्रका आवासीय भवनमा मिसाइलका टुक्रा खस्दा ठूलो क्षति पुगेको छ। उद्धारकर्मीहरूले रातभर भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धार अभियान सञ्चालन गरेका छन्।
रक्षा विश्लेषकहरूका अनुसार पछिल्ला साताहरूमा रुसले युक्रेनका ऊर्जा पूर्वाधार, सांस्कृतिक सम्पदा र नागरिक बस्तीलाई लक्षित गर्दै आक्रमण बढाएको छ। युक्रेनले पनि रुसी भूभागभित्र रहेका तेल प्रशोधन केन्द्रहरूमा ड्रोन आक्रमण गरेपछि द्वन्द्व थप चर्किएको बताइएको छ।
कूटनीतिक प्रयासहरू निष्कर्षविहीन भइरहेका बेला किभवासीका लागि यस्ता त्रासदीपूर्ण रातहरू दैनिक जीवनको हिस्सा बन्दै गएका छन्
प्रतिक्रिया