यूएईमा पहिलो राष्ट्रिय यात्रुवाहक रेल सेवा सञ्चालन, ११ सहर एउटै नेटवर्कमा
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो पहिलो राष्ट्रिय यात्रुवाहक रेल सेवा ‘डेजर्ट एक्सप्रेस’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। लामो समयदेखि प्रतिक्षामा रहेको यो रेल सेवा सर्वसाधारणका लागि खुला गरिएको हो, जसले देशका ११ वटा प्रमुख सहरलाई आपसमा जोड्नेछ।
मङ्गलबार स्थानीय समयअनुसार बिहान ५ः३४ बजे ओमानको खाडी किनारस्थित फुजैराहबाट पहिलो सेवा सुरु भएको थियो। करिब २५० किलोमिटरको दूरी तय गर्दै रेल १ घण्टा ४५ मिनेटपछि बिहान ७ः१९ बजे अबुधाबीको मोहम्मद बिन जायद सिटी स्टेसन पुगेको थियो।
सीएनएनका अनुसार, रेल सञ्चालन गर्ने कम्पनी इतिहाद रेलले यात्रुवाहक सेवाको प्रारम्भिक सञ्चालन चरण सुरु भएको जनाएको छ। कम्पनीका अनुसार पहिलो दिन सञ्चालनका लागि तय गरिएका छ वटा सेवामध्ये पहिलो रेल सफलतापूर्वक गन्तव्यमा पुगेको हो।
रेल सेवा सुरु हुनुअघि नै १० हजारभन्दा बढी टिकट बिक्री भइसकेको कम्पनीले जनाएको छ, जसले सेवाप्रतिको यात्रु आकर्षण देखाएको छ।
यात्रुलाई सहज र आधुनिक अनुभव उपलब्ध गराउने उद्देश्यले रेलमा वातानुकूलित डिब्बा, निःशुल्क वाइफाइ, पावर आउटलेट, आरक्षित सिट तथा अन्य आधुनिक सुविधाको व्यवस्था गरिएको छ। थप सुविधा चाहने यात्रुका लागि प्रिमियम क्लास सेवा पनि उपलब्ध छ।
रेलको कम्फर्ट क्लासको भाडा ५५ दिराम (करिब १५ अमेरिकी डलर) र प्रिमियम क्लासको भाडा १२० दिराम (करिब ३३ अमेरिकी डलर) बाट सुरु हुने कम्पनीले जनाएको छ। हाल सञ्चालनमा रहेका १३ वटा रेलमध्ये प्रत्येकले एकपटकमा करिब ४०० यात्रु बोक्न सक्ने क्षमता राख्छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया