Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

युक्रेनको राजधानी किभमा रुसद्वारा हवाई आक्रमण : मृत्यु हुनेको संख्या २७ पुग्यो


काठमाडौं । रूसले युक्रेनको राजधानी कीभमा सयौं ड्रोन र दर्जनौं मिसाइल प्रहार गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् ।

आक्रमणका कारण करिब १३० वटा भवनमा क्षति पुगेको छ। मध्यरातभरि भएका शृङ्खलाबद्ध विस्फोटका कारण किभ सहर थर्किएको थियो भने हजारौँ बासिन्दा ज्यान जोगाउन बम सेल्टर र भूमिगत मेट्रो स्टेसनतर्फ भागेका थिए। आक्रमणपछि आकाशमा धुवाँको ठुलो मुस्लो देखिएको थियो।

राजधानीको सैन्य प्रशासनका प्रमुख तैमुर त्काचेन्कोले टेलिग्राममार्फत अस्पतालमा एक घाइतेको मृत्यु भएपछि मृतकको सङ्ख्या २७ पुगेको र ९१ जना घाइते भएका छन् । भग्नावशेषमुनि फसेका मानिसहरूको खोजीमा उद्धार टोलीहरूले रातभरि काम गरिरहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी उनले दिएका थिए।

नीपर नदीको देब्रे किनारमा रहेको पूर्वी उपनगरको एक ठाउँबाट पाँचवटा शव निकालिएको र आठ जना अझै बेपत्ता रहेको उनले बताए। त्काचेन्कोले सबै भग्नावशेषहरू सफा नगरेसम्म उद्धार टोलीहरूले निरन्तर काम गर्ने भन्दै ‘दुर्भाग्यवश, अझै धेरै पीडितहरू फेला पर्न सक्ने’ उल्लेख गरे।

रुसले रातभरमा ७४ वटा मिसाइल र ४९६ वटा ड्रोन प्रहार गरेको थियो। वायुसेनाका प्रवक्ता युरी इह्नातले ब्यालिस्टिक मिसाइलहरूको सङ्ख्या असामान्य रूपमा बढी भएको र तिनलाई रोक्ने दर कम रहेको बताए। युक्रेनले हालैका महिनाहरूमा प्याट्रियट मिसाइलहरूको अभाव झेल्दै आएको छ।

अर्कोतर्फ, रुसी रक्षा मन्त्रालयले टेलिग्राम पोस्टमा लामो दूरीका र सटिक निशाना लगाउने हवाई, जमिन र समुद्री हतियार तथा ड्रोनहरूको प्रयोग गरी गरिएको ‘ठुलो आक्रमण’ ले किभ र अन्य स्थानहरूमा रहेका सैन्य तथा ऊर्जा सुविधाहरू एवं विमानस्थलहरूमा प्रहार गरेको जनाएको छ।

 

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट