सरकारको सय दिन : ६६६ बिचौलियालाई नियन्त्रणमा, ४६५ सुकुमवासी परिवारलाई राहत
काठमाडौं । सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनभित्र ६६६ जना बिचौलियालाई नियन्त्रणमा लिएको जनाएको छ।
शनिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका सय दिने उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी दर्ता भएको र तीमध्ये हालसम्म ६६६ जना बिचौलियामाथि कारबाही गरिएको जानकारी दिए।
उनका अनुसार सहकारी पीडितको रकम फिर्ता अभियानअन्तर्गत १० वटा सहकारी संस्थाबाट कुल २ करोड ६३ लाख ९० हजार रुपैयाँ बचतकर्तालाई फिर्ता गरिएको छ।स्वास्थ्य सेवातर्फ सरकारले १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना गरिएको जनाएको छ। उक्त सेवालाई प्रदेशस्तरसम्म विस्तार गर्ने तयारीसमेत भइरहेको बताइएको छ।त्यसैगरी, काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम उपलब्ध गराइएको जानकारी सरकारका प्रवक्ताले दिएका छन्।सेवा प्रवाह सुधारअन्तर्गत सरकारले दुई लाख ६ हजार ३ सय ३० थान राहदानी हुलाक सेवामार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म पुर्याइएको जनाएको छ। सोही संख्यामा राहदानी सेवाग्राहीको घरसम्म वितरण गरिएको पनि सरकारको दाबी छ।
यस्तै, यातायात व्यवस्थापनतर्फ २३ लाख ७५ हजार १ सय ८१ थान चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सम्पन्न भइसकेको जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको छ।
सरकारले यी उपलब्धिलाई सुशासन, सेवा प्रवाह सुधार र नागरिकमैत्री प्रशासन निर्माणतर्फका महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया