टर्कीको चेतावनी: इजरायललाई अमेरिका-इरान सम्झौता बिगार्ने अनुमति दिन हुँदैन
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका र इरानबीचको सम्भावित शान्ति सम्झौतालाई विफल पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन्।समाचार एजेन्सी रोयटर्सका अनुसार इस्तानबुलमा शनिबार पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै एर्दोगानले मध्यपूर्वमा स्थायी शान्तिका लागि क्षेत्रीय मुलुकहरूको सहकार्य अपरिहार्य रहेको बताएका हुन्।उनले क्षेत्रीय देशहरूको सहभागिता र समर्थनबिनाको कुनै पनि समाधान दिगो हुन नसक्ने उल्लेख गरे।
‘क्षेत्रीय देशहरूको इच्छा, समर्थन र योगदानमा आधारित समाधान मात्रै दीर्घकालीन हुन सक्छ। उनीहरूको सहयोगबिना गरिने कुनै पनि प्रयास लामो समयसम्म टिक्दैन,’ एर्दोगानले भने।उनले अमेरिका–इरानबीचको सम्झौतालाई कमजोर पार्ने प्रयास भइरहेको दाबी गर्दै इजरायली सरकारप्रति आलोचना गरे।
‘हामी अमेरिका र इरानबीचको सम्झौता बिगार्न इजरायली सरकारले गरिरहेका प्रयासहरूलाई नजिकबाट नियालिरहेका छौँ। वर्तमान इजरायली सरकार निरन्तर युद्धको मार्गमा अघि बढिरहेको छ। यसले फेरि एकपटक हाम्रो क्षेत्रलाई हिंसा र रक्तपाततर्फ धकेल्न दिनु हुँदैन,’ उनले भने।
एर्दोगानले यसअघि पनि गाजा, लेबनान र सिरियामा इजरायलले सञ्चालन गरेका सैन्य गतिविधिको आलोचना गर्दै आएका छन्।यसैबीच, टर्कीका विदेशमन्त्री हकान फिदानले पनि इजरायल नयाँ शत्रु खोज्ने रणनीतिमा रहेको आरोप लगाएका छन्।
‘जबसम्म इजरायल वा अन्य कुनै पक्षले टर्कीको राष्ट्रिय तथा क्षेत्रीय हितविरुद्ध गतिविधि जारी राख्छ, तबसम्म हामीसँग डराउने, हिचकिचाउने वा पछि हट्ने कुनै कारण छैन,’ फिदानले भने।
रोयटर्सका अनुसार टर्कीले पछिल्लो समय मध्यपूर्वमा कूटनीतिक समाधान र क्षेत्रीय सहकार्यलाई प्राथमिकतामा राख्दै आएको छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया