Techie IT
KTM Post
आईतबार, २१ असार, २०८३

कंगाेमा इबोलाको भयानक रूप: संक्रमितको संख्यामा १५ सय नाघ्यो, समुदायस्तरमै फैलिँदा नियन्त्रणमा चुनौती


काठमाडौं । अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ द कंगाे मा घातक इबोला भाइरसको पछिल्लो प्रकोप समुदायस्तरमै तीव्र रूपमा फैलिरहेको बताइएको छ।

कंगोका जनस्वास्थ्य अधिकारीहरूले शनिबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार देशमा कुल सङ्क्रमितको संख्या एक हजार ५२८ पुगेको छ भने महामारीका कारण ४९२ जनाको मृत्यु भइसकेको छ। यो तथ्यांकले संक्रमण नियन्त्रणमा चुनौती थपिएको संकेत गरेको छ।

स्वास्थ्य मन्त्रालय र स्थानीय अधिकारीहरूका अनुसार हालसम्म २३९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने ६२८ जना विभिन्न आइसोलेसन केन्द्र र अस्पतालमा उपचाररत छन्। साथै, १८५ जना शंकास्पद बिरामीलाई निगरानीमा राखिएको जनाइएको छ।पछिल्ला साताहरूमा नयाँ संक्रमित थपिने दर निरन्तर बढिरहेको छ। महामारीसम्बन्धी तथ्यांकअनुसार २५औँ र २६औँ सातामा मात्र प्रत्येक हप्ता ३०० भन्दा बढी नयाँ संक्रमण पुष्टि भएको छ, जसले समुदायस्तरमा भाइरस अझै सक्रिय रहेको देखाउँछ।

महामारी नियन्त्रणका क्रममा स्वास्थ्यकर्मीहरूले विभिन्न चुनौती सामना गरिरहेका छन्। विशेषगरी उत्तर किभु क्षेत्रका इबोला उपचार केन्द्रहरूमा स्रोतसाधन र क्षमताको अभाव देखिएको छ। दुर्गम क्षेत्रहरूमा मृतकको नमूना सङ्कलनका क्रममा स्थानीय समुदायबाट असहयोग हुने, संक्रमितको सम्पर्कमा आएका व्यक्तिको प्रभावकारी खोजी गर्न कठिन हुने तथा प्रयोगशाला परीक्षणमा ढिलाइ हुने समस्या कायम रहेको जनाइएको छ।

प्रभावित क्षेत्रहरूमा असुरक्षा, औषधि तथा संक्रमण नियन्त्रण सामग्रीको अभाव र विकट भौगोलिक अवस्थाले राहत तथा स्वास्थ्य टोलीको पहुँच सीमित बनाएको छ, जसका कारण महामारी नियन्त्रणका प्रयास प्रभावित भएका छन्।यसैबीच, विश्व स्वास्थ्य संगठन का अनुसार कंगोमा फैलिएको ‘बुन्डिबुग्यो’ भाइरस प्रजातिबाट हुने इबोलाको सम्भावित उपचार खोज्न क्लिनिकल परीक्षण सुरु गरिएको छ।

यसअघि इबोलाका अन्य प्रजातिविरुद्ध खोप विकास भइसके पनि हाल फैलिएको बुन्डिबुग्यो प्रजातिका लागि स्वीकृत खोप वा विशिष्ट औषधि उपलब्ध छैन। त्यसैले जारी क्लिनिकल परीक्षणलाई विश्व समुदायले चासोका साथ हेरिरहेको छ र यसले आगामी दिनमा महामारी नियन्त्रणका लागि नयाँ सम्भावना सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट