रुस–युक्रेन युद्ध थप चर्कियो, दुवै पक्षबाट व्यापक आक्रमण
एजेन्सी। रुस र युक्रेनबीच जारी युद्धमा पछिल्लो २४ घण्टामा दुवै पक्षले एकअर्काका रणनीतिक लक्ष्यमा व्यापक आक्रमण गरेका छन्। दुवै देशले सैन्य तथा पूर्वाधारमा ठूलो क्षति पुर्याएको दाबी गरेका छन्।
रुसी रक्षा मन्त्रालयका अनुसार रुसी सेनाले युक्रेनका ऊर्जा, इन्धन र यातायात पूर्वाधारसहित १४२ भन्दा बढी स्थानमा आक्रमण गरेको छ। मन्त्रालयले लामो दूरीका ड्रोन उत्पादन केन्द्र र भण्डारण स्थलहरूलाई समेत निशाना बनाइएको जनाएको छ।
रुसले युक्रेनी सेना र विदेशी लडाकुहरूको अस्थायी तैनाथी स्थलमा पनि प्रहार गरेको दाबी गरेको छ। साथै, खार्किभ क्षेत्रका थप चार बस्ती आफ्नो नियन्त्रणमा आएको रुसी पक्षको भनाइ छ।यता, युक्रेनी सशस्त्र बलले विभिन्न मोर्चामा रुसी आक्रमणको कडा प्रतिकार भइरहेको जनाएको छ। युक्रेनका अनुसार शुक्रबारदेखि शनिबारसम्म २६८ भन्दा बढी सैन्य भिडन्त भएका छन्।
युक्रेनी सेनाले पछिल्लो २४ घण्टामा रुसी पक्षका तीन कमाण्ड पोस्ट, पाँच ड्रोन नियन्त्रण केन्द्र तथा अन्य रणनीतिक सैन्य लक्ष्यमा क्षति पुर्याएको दाबी गरेको छ। यस्तै, रुसले प्रहार गरेका दुई मिसाइल र १७ ड्रोनमध्ये अधिकांशलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय बनाएको युक्रेनी अधिकारीहरूको भनाइ छ।
युक्रेनी जनरल स्टाफले आजोभ सागर क्षेत्रमा एउटा रुसी सैन्य हेलिकोप्टर खसालिएको दाबी गरेको छ। यद्यपि, यसबारे रुसी पक्षले कुनै प्रतिक्रिया दिएको छैन।यसैबीच, युक्रेनी फौजले लुहान्स्क क्षेत्रमा सिभेर्स्की दोनेत्स नदीमाथिको महत्त्वपूर्ण रेल पुलमा आक्रमण गरी रुसी आपूर्ति प्रणालीमा अवरोध सिर्जना गरेको जनाएको छ।युद्ध विश्लेषकहरूका अनुसार दुवै पक्षले कमाण्ड सेन्टर, ड्रोन संरचना र आपूर्ति मार्गलाई प्राथमिक निशाना बनाएपछि पछिल्ला दिनहरूमा युद्ध झन् आक्रामक बन्दै गएको छ।
स्वतन्त्र रूपमा भने दुवै पक्षका दाबीहरूको पुष्टि हुन सकेको छैन।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया