Techie IT
KTM Post
आईतबार, २१ असार, २०८३

किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध


काठमाडौँ । राष्ट्रको समृद्धिमा महत्त्वपूर्ण भूमिका निभाउँदै आएका किसानहरूको अथक परिश्रम र योगदानको सम्मान, पहिचान तथा संरक्षणका लागि सुरु गरिएको किसान सूचीकरण कार्यक्रमले तीव्रगति लिएको छ ।

नेपाल सरकारले खाद्य अधिकार तथा खाद्य सम्प्रभुत्तासम्बन्धी ऐन, २०७५ अनुरूप किसान सूचीकरण कार्यक्रम देशभर राष्ट्रिय अभियानको रूपमा सञ्चालन गरिरहेको छ । यसै सन्दर्भमा सरकारको १०० बुँदे कार्यसूचीमा उच्च प्राथमिकताका साथ समेटिएको यस कार्यक्रमले पछिल्लो समय तीव्रगति लिएको हो ।

आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म २४ लाख ५० हजार किसान सूचीकृत हुने लक्ष्य लिइएकामा पछिल्लो समय कृषि, वन तथा पर्यावरण मन्त्रालयको विशेष सक्रियता, कृषि सूचना तथा प्रशिक्षण केन्द्रको समन्वय र स्थानीय तहको निरन्तर प्रयासबाट हालसम्म उल्लेख्य सङ्ख्यामा किसान सूचीकरण भएका छन् ।

हालसम्म देशैभर २६ लाख ४५ हजार किसान परिवार (कुल किसान परिवारको करिब ६४ प्रतिशत) प्रणालीमा आबद्ध भएका मन्त्रालयको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । आगामी आवदेखि किसान वर्गीकरणसहित परिचय वितरणको कार्यक्रम अगाडि बढाइने गरी मन्त्रालयले केन्द्रलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।

केन्द्रले विद्यमान प्रणालीको अद्यावधिक, प्रदेश तथा स्थानीय तहसँग समन्वय एवं सहजीकरणको कार्यलाई तीव्रता दिएसँगै स्थानीय तहलाई यस कार्यलाई प्राथमिकतामा राखी सूचीकरण र प्रमाणीकरण शीघ्र सम्पन्न गर्न अनुरोध गरेको छ ।

परिचयपत्र वितरणले किसानलाई पहिचान तथा सम्मान प्रदान गर्न सहयोग पुग्नेछ । साथै सरकारबाट प्रदान गरिने सेवा सुविधालाई एकीकृत गर्न, तथ्याङ्क सङ्कलन गर्न, अनुदानको अनुगमन गर्न एवं विद्यमान अन्य प्रणालीहरूबीच अन्तर आबद्धतासहित सेवाप्रवाहमा सरलीकरण र प्रभावकारिता वृद्धि हुने अपेक्षा गरिएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट