Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

सप्तरीको भेटेरिनरी अस्पतालमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २ पक्राउ


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीमा छापा मारेको छ । पशुचौपाया र बाख्राहरूमा लाग्ने महामारी जन्य रोग विरुद्ध लगाइने पीपीआर खोप लगाउन नियुक्ति गरेका भ्याक्सिनेटरसँग भुक्तानीका लागि २० देखि २५ प्रतिशतसम्म रकम प्रति भ्याक्सिनेटर घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले छापा मारेको हो ।

अख्तियारको टोलीले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका कार्यालय प्रमुख रामपवित्र दास र सवारी चालक भोगेन्द्र यादवलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई अख्तियारको टोलीले कार्यालयबाटै नियन्त्रणमा लिएको जनाइएको छ । कार्यालय प्रमुख दासले भ्याक्सिनेटरहरूलाई घुस रकम माग्न सवारीचालकलाई दबाब दिएर फोन गर्न लगाउने गरेका थिए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीले भ्याक्सिनेटरहरूलाई भ्याक्सिन लगाएवापत प्रति बाख्रा ५ रूपैयाँ र पशुचौपायाको १० रूपैयाँ दिने गरेको छ । उनीहरूले भ्याक्सिन लगाएको क्षेत्रका सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गराएर भुक्तानीका लागि निवेदन दिने गरेको छ ।

सोही काम गरेको रकम भुक्तानी माग गर्दा कार्यालय प्रमुखले घुस मागेपछि भ्याक्सिनेटरहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सामूहिक उजुरी गरेका थिए ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट