Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

सार्वजनिक सवारीमा सीसीटीभी अनिवार्य, १६० बसमा जडान सुरु


काठमाडौं। सरकारले सार्वजनिक सवारीलाई थप सुरक्षित, प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यसहित ट्याक्सी, सफा टेम्पोदेखि ठूला बससम्म सीसीटीभी तथा अन्य सुरक्षा उपकरण अनिवार्य गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। हालसम्म १६० सार्वजनिक बसमा सीसीटीभी र ड्यासक्याम जडान भइसकेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै साझा यातायातका १११ बसमा सीसीटीभी जडान गरिएको छ। तीमध्ये ७१ वटा डिजेल र ४० वटा विद्युतीय बस रहेका छन्। त्यसैगरी महानगर यातायातका ४६ बसमा पनि सीसीटीभी राखिएको छ, जसमा २५ बस काठमाडौं उपत्यकाभित्र र २१ बस उपत्यकाबाहिर सञ्चालनमा छन्। पाँचपोखरी सुनौलो यातायातका तीन बसमा समेत सीसीटीभी तथा ड्यासक्याम जडान गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अन्य सार्वजनिक सवारीमा पनि उपकरण जडानको प्रक्रिया जारी छ भने यसको अनुगमन ट्राफिक प्रहरीले गरिरहेको छ। सार्वजनिक सवारीलाई सुरक्षित, मर्यादित, प्रविधियुक्त र पहुँचयोग्य बनाउने उद्देश्यले सरकारले नयाँ मापदण्ड लागू गरेको हो।

सरकारले २०८२ चैत १३ गते मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सार्वजनिक सवारीमा सुरक्षा उपकरण अनिवार्य गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अब ट्याक्सी, टेम्पो, बस, माइक्रोबस, मिनीबस, जीप, भ्यान तथा अन्य सार्वजनिक सवारीमा सीसीटीभी जडान गर्नुपर्नेछ।

मापदण्डअनुसार ट्याक्सी र सफा टेम्पोमा अगाडिको ड्यासक्याम र केबिन क्यामरा अनिवार्य गरिएको छ। साथै चालकको पहुँचभित्र र यात्रु बस्ने भागमा आपतकालीन ‘एसओएस’ बटन राख्नुपर्ने व्यवस्था गरिएको छ।

बस, माइक्रोबस, मिनीबस, पर्यटक सवारी, जीप, भ्यान र पिकअपमा अगाडि र पछाडि ड्यासक्यामसहित सुरक्षा निगरानी प्रणाली राख्नुपर्नेछ। चालकको निद्रा, ध्यान विचलन वा असावधानी पहिचान गर्ने चालक अनुगमन प्रणाली पनि यस्ता सवारीमा अनिवार्य गरिएको छ। यात्रु र चालक दुवैले सजिलै प्रयोग गर्न सक्ने स्थानमा एसओएस बटन राख्नुपर्ने व्यवस्था छ।

मालवाहक सवारीमा भने डाटा संकलन गर्ने हेड युनिट, अगाडिको ड्यासक्याम, रिभर्स असिस्ट क्यामरा, चालक अनुगमन प्रणाली तथा एक्सल भार मापन गर्ने उपकरण अनिवार्य गरिएको छ।

नयाँ मापदण्डले अधिकांश सार्वजनिक सवारीमा अग्नि नियन्त्रक (फायर एक्स्टिङ्गुइसर) र प्राथमिक उपचार किट राख्न पनि अनिवार्य गरेको छ। यस्ता सामग्री चालक र यात्रुले सजिलै देख्न तथा प्रयोग गर्न सक्ने स्थानमा राख्नुपर्नेछ भने चालक र परिचालकलाई यसको प्रयोगसम्बन्धी आधारभूत तालिम दिनुपर्ने व्यवस्था गरिएको छ। ट्याक्सी र सफा टेम्पोलाई भने यस व्यवस्थाबाट छुट दिइएको छ।

यातायात व्यवस्था विभागले आवश्यक परे विद्युतीय तथा वातावरणमैत्री सवारी, सफा टेम्पो वा प्रविधि जडान गर्न कठिन हुने सवारीलाई निश्चित अवस्थामा छुट दिन सक्ने व्यवस्था पनि मापदण्डमा गरिएको छ।

सरकारले अनिवार्य उपकरण जडान नगर्ने सवारीमाथि कडा कारबाही गर्ने जनाएको छ। मापदण्डअनुसार उपकरण नजडान गरेका सवारी जाँचपासमा अनुत्तीर्ण हुनेछन्। जाँचपास प्रमाणपत्र नपाएसम्म रुट इजाजत नदिइनेछ भने यसअघि इजाजत प्राप्त सवारीको हकमा समेत आवश्यक परे रुट इजाजत रद्द गर्न सकिने व्यवस्था गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट