Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

सरकारको कार्यशैलीले असक्षमता उजागर गर्‍यो : रास्वपा सचेतक धिताल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले सुकुम्बासी व्यवस्थापनको विषयमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राज्यको कमजोरी र असक्षमता उजागर भएको टिप्पणी गरेकी छन्।

सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सुकुम्बासीको समस्या समयमै सम्बोधन गर्न नसकिएको र सरकारका प्रतिबद्धताअनुसार काम नभएको आरोप लगाइन्।धितालले सुकुम्बासीको व्यवस्थापन आवश्यक भए पनि त्यसका लागि अपनाइएको प्रक्रिया सरकारको वाचापत्र र अभिभावकीय भूमिकाअनुकूल नभएको उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, “आज सडकमा बगिरहेका सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ। सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो। तर, के यो हाम्रो वाचापत्रअनुसार भयो? के अभिभावकीय राज्य यस्तै हुन्छ?”

सरकारले आवश्यक संवेदनशीलता, योजना र जिम्मेवारीका साथ काम गर्न नसकेको उनको आरोप छ।

“जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन। यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्‍यो,” धितालले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट