प्रधानमन्त्री बालेन र उनको परिवार विरुद्ध अश्लील सामग्री बनाएका युट्युबर विरुद्ध मुद्दा दायर
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनको परिवारलाई लक्षित गरी सामाजिक सञ्जालमा अश्लील तथा अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा युट्युबर रोशन पोखरेलविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दायर गरिएको छ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का २४ वर्षीय पोखरेलविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पाँचथरले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अभियोगपत्र दर्ता गरेको हो। उनी गत चैत २६ गते पक्राउ परेका थिए।
प्रहरीका अनुसार पोखरेलले Hades Junglee नामक फेसबुक, टिकटक, इन्स्टाग्राम तथा युट्युब च्यानलमार्फत प्रधानमन्त्री बालेनसहित विभिन्न सार्वजनिक व्यक्तित्वलाई लक्षित गरी अश्लील, अपमानजनक र अमर्यादित सामग्री पोस्ट गरेका थिए।
अनुसन्धानका क्रममा उनले सामाजिक सञ्जालमा लाइक, कमेन्ट र पहुँच बढाउने उद्देश्यले बालेनविरुद्ध अश्लील शब्द प्रयोग गरेको स्वीकार गरेका छन्। कानुनविपरीत हुने थाहा हुँदाहुँदै आवेशमा आएर सामग्री पोस्ट गरेको र कानुनी कारबाही भोग्न तयार रहेको बयानमा उल्लेख छ।
प्रहरीले उनको साथबाट बरामद गरेको Xiaomi 14T मोबाइल र सिमकार्ड डिजिटल फरेन्सिक परीक्षणका लागि पठाएको छ। अभियोगपत्रमा दोषी ठहर भए विद्युतीय कारोबार ऐनअनुसार पाँच वर्षसम्म कैद, एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको माग गरिएको छ। साथै प्रयोग गरिएको मोबाइल जफत र पीडित राहत कोषमा क्षतिपूर्ति भराउन पनि माग गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया