सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन सूचना
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका सिलसिलामा सात दिनभित्र कार्यालयमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।
मंगलबार प्रकाशित सूचनामा विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम जयवीर देउवालाई बाटोको म्याद बाहेक सात दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चयकोषको केन्द्रीय कार्यालयको ‘बी’ ब्लकमा रहेको विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।विभागले अनुसन्धानका क्रममा जयवीरसँग केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले उपस्थित हुन भनिएको उल्लेख गरेको छ। तोकिएको म्यादभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि सूचनामा दिइएको छ।
सूचनामा भनिएको छ, “सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानका सिलसिलामा तपाईंसँग केही बुझ्नुपर्ने भएकाले यो सूचना प्रकाशन भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र विभागको कार्यालयमा उपस्थित हुन आउनुहुन अनुरोध गरिन्छ। अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ।”
यसैबीच, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणा देउवा तथा छोरा जयवीर देउवा हाल विदेशमा रहेका छन्। उनीहरू फागुन २१ गतेको निर्वाचनअघि उपचारका लागि विदेश गएको र हालसम्म स्वदेश नफर्किएको बताइएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया