आगामी आर्थिक वर्षमा मूल्यवृद्धि ५.५ प्रतिशत रहने राष्ट्र बैंकको प्रक्षेपण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ मा मुद्रास्फीति (मूल्यवृद्धि) ५.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले मूल्यवृद्धिको दबाब अझै केही महिना जारी रहने जानकारी दिएका छन् ।
गभर्नर पौडेलका अनुसार बाह्य आपूर्तिजन्य कारण मुद्रास्फीतिमा दबाब बढ्दै गएकोमा आन्तरिक मागमा हुने विस्तारले समेत मुद्रास्फीतिमा केही दबाब पार्ने देखिएको छ । चालु आर्थिक वर्षको दश महिनाको औसत मुद्रास्फीति २.६६ प्रतिशत मात्र रहेको तर २०८३ वैशाखको वार्षिक विन्दुगत मुद्रास्फीति ५.०४ प्रतिशत रहेको छ ।
आपूर्तिजन्य कारणले पेट्रोलियम पदार्थ एवम् खाद्य वस्तुको मूल्य बढ्दा मुद्रास्फीति दबाब केही महिना अझै जारी रहने तर आगामी आर्थिक वर्षको चौथो त्रैमासदेखि कम हुने आँकलन सहित आर्थिक वर्ष २०८३/८४ मा मुद्रास्फीति ५.५ प्रतिशत भित्र रहने प्रक्षेपण छ ।
राष्ट्र बैंकका अनुसार मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याजदरको अवस्थाले अर्थतन्त्र विस्तारमा सघाउ पुग्ने देखिन्छ । वित्त नीतिले सार्वजनिक खर्च विस्तार, आयकर कटौती एवम् आर्थिक सुधारका कार्यक्रम प्रस्ताव गरेकाले यसबाट समष्टिगत माग वृद्धि हुन गई समग्र आर्थिक गतिविधि विस्तार हुँदा तरलता खपत हुँदै जाने अनुमान गरिएको छ । यद्यपि, विप्रेषण आप्रवाह, पर्यटन आय, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा तरलता व्यवस्थापनमा देखिएको चुनौती कायमै रहने आँकलन गरिएको छ ।
समग्र बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थायित्वका सूचकहरू सन्तोषजनक देखिएको छ । तथापि, केही संस्थाहरूमा पछिल्लो समय देखिएको बढ्दो निष्क्रिय कर्जा र सोका कारण पूँजिकोषमा देखिएको दबाबका कारण सघन अनुगमन आवश्यक छ ।
आर्थिक गतिविधिसँगै आयात बढ्ने देखिएता पनि विप्रेषण आप्रवाह उच्च नै रहने एवम् पर्यटन लगायतका सेवा निर्यात विस्तार हुँदा चालु खाता एवम् शोधनान्तर बचतमा रहने र सोको फलस्वरूप विदेशी विनिमय सञ्चिति अझै बढ्ने राष्ट्र बैंकको अनुमान छ ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया