निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका सुझाव समेट्न एमाले कार्यदलको बैठक आज
काठमाडौं। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्न गठन गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यदलको बैठक आज बस्दैछ।
पार्टी उपाध्यक्ष रामबहादुर थापा को संयोजकत्वमा गठित कार्यदलको बैठक यसअघि असार २२ गतेका लागि तय गरिएको भए पनि विभिन्न कारणले स्थगित भएको थियो। आजको बैठकमा देशभरबाट संकलित सुझावहरूको समीक्षा गर्दै प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिएको छ।
गत निर्वाचनपछि पार्टीको समग्र अवस्था, संगठनात्मक संरचना तथा नेतृत्व शैलीबारे पार्टीभित्र व्यापक समीक्षा हुनुपर्ने आवाज उठ्दै आएको छ। विशेषगरी सचिवालय तहबाटै पार्टी अध्यक्ष केपी शर्मा ओली ले नेतृत्व हस्तान्तरणका लागि मार्गप्रशस्त गर्नुपर्ने विषय उठेपछि एमालेले कार्यदल गठन गरेर तल्लो तहका नेता–कार्यकर्ताबाट सुझाव संकलन गर्ने निर्णय गरेको थियो।
कार्यदलले सातै प्रदेशका पार्टी कमिटी, जनसंगठन तथा नेता–कार्यकर्तासँग छलफल गरी प्राप्त सुझावहरू संकलन गरेको जनाएको छ। ती सुझावहरूलाई एकीकृत गर्दै पार्टीको भावी संगठनात्मक सुधार, नेतृत्व विकास, निर्वाचन रणनीति तथा पार्टी सञ्चालनका विषयमा विस्तृत प्रतिवेदन तयार पारिएको बताइएको छ।
आजको बैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिएपछि पार्टी नेतृत्वसमक्ष बुझाइने तयारी छ। कार्यदलको प्रतिवेदनलाई आगामी पार्टी निर्णय तथा संगठन सुदृढीकरणका लागि महत्त्वपूर्ण आधारका रूपमा हेरिएको छ।
पार्टीभित्र उठेका नेतृत्व परिवर्तन, संगठन सुदृढीकरण, कार्यशैली सुधार तथा आगामी निर्वाचनको तयारीसम्बन्धी सुझावहरूलाई समेत प्रतिवेदनमा समेटिएको स्रोतले जनाएको छ। एमाले नेतृत्वले कार्यदलको सुझावका आधारमा आवश्यक नीतिगत तथा संगठनात्मक निर्णय लिने अपेक्षा गरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया