आईपीओ जारी गर्दै ईस्ट सोलार कम्पनी
काठमाडौं। झापामा निर्माणाधीन ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना सम्पन्न हुने चरणमा पुगेपछि ईस्ट सोलार लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी अघि बढाएको छ।
आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउने उद्देश्यले कम्पनीले बुधबार नेश्नल क्यापिटल नेपाललाई निष्कासन तथा बिक्री प्रबन्धक (इश्यु म्यानेजर) नियुक्त गर्दै सम्झौता गरेको हो।
ईस्ट सोलारका प्रमुख कार्यकारी अधिकृत (सीईओ)का अनुसार झापाको बैगुनधुरामा निर्माण भइरहेको ५ मेगावाट क्षमताको बैगुनधुरा सोलार परियोजना अन्तिम चरणमा पुगेको छ। आयोजना सञ्चालनमा आउने समयमै आईपीओ जारी गर्ने लक्ष्यका साथ निष्कासन व्यवस्थापकसँग सम्झौता गरिएको उनले बताए।उनले आयोजना निर्माण लगभग सम्पन्न भइसकेको उल्लेख गर्दै सार्वजनिक कम्पनीका रूपमा अघि बढ्ने रणनीतिअनुसार सर्वसाधारणलाई पनि कम्पनीको स्वामित्वमा सहभागी गराउने उद्देश्यले आईपीओ ल्याउन लागिएको जानकारी दिए।
सम्झौतापछि नेश्नल क्यापिटल नेपालका प्रमुख कार्यकारी अधिकृत अर्पण खनालले ईस्ट सोलारको सार्वजनिक निष्कासन प्रक्रिया व्यवस्थापन गर्ने जिम्मेवारी आफ्नो संस्थाले लिएको बताए। नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त मर्चेन्ट बैंकरका रूपमा नेश्नल क्यापिटलले निष्कासन व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापनलगायतका सेवा प्रदान गर्दै आएको उनले उल्लेख गरे।
खनालले मुलुकलाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने सरकारी लक्ष्य हासिल गर्न निजी क्षेत्रको विस्तार र पुँजी बजारको सुदृढीकरण आवश्यक रहेको बताए। हाल अधिकांश लगानी बैंकिङ प्रणालीमा केन्द्रित रहेकाले कम्पनीहरूले बैंक ऋणमा मात्र निर्भर नरही शेयर बजारमार्फत दीर्घकालीन पूँजी जुटाउने अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो।
उनले पुँजी बजारमार्फत उद्यमी तथा कम्पनीलाई लगानी जुटाउन सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै ईस्ट सोलारसँग भएको सम्झौताले ऊर्जा क्षेत्रमा निजी लगानी आकर्षित गर्नुका साथै नेपालको पुँजी बजार विस्तारमा पनि सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया