Techie IT
KTM Post
शुक्रबार, २६ असार, २०८३

विश्वकप क्वाटरफाइनको नतिजा के होला, यस्तो छ एक्सपर्टको भविष्यवाणी


काठमाडौं । विश्वकप फुटबलको क्वार्टरफाइनल चरण सुरु हुन लाग्दा अब सेमिफाइनल पुग्ने चार टोली को बन्ने भन्ने चासो उत्कर्षमा पुगेको छ। यसैबीच, बीबीसी स्पोर्ट्सका फुटबल विश्लेषक क्रिस सटनले अन्तिम आठका खेलहरूको नतिजाबारे आफ्नो अनुमान सार्वजनिक गरेका छन्।

राउन्ड अफ १६ मा अधिकांश खेलको सही भविष्यवाणी गरेका सटनले हालसम्म सम्पन्न ९६ खेलमध्ये ६१ खेलको नतिजा सही अनुमान गरेका छन्। उनले आफ्नो विश्लेषण टोलीको वर्तमान प्रदर्शन, खेलाडीको अवस्था र रणनीतिक पक्षका आधारमा गरेका हुन्।

फ्रान्स बनाम मोरक्को

सटनका अनुसार फ्रान्स यस खेलको स्पष्ट दाबेदार हो। उनले प्रतियोगिता सुरु भएदेखि नै फ्रान्सलाई उपाधिको प्रमुख दाबेदार मान्दै आएका छन् र आफ्नो धारणा परिवर्तन नगर्ने बताएका छन्।

उनका अनुसार मोरक्कोसँग फ्रान्सलाई चुनौती दिने क्षमता भए पनि पूरा ९० मिनेट उच्च स्तरको प्रदर्शन गर्नुपर्नेछ। प्रमुख फरवार्ड इस्माइल साइबारीको चोटले मोरक्कोको आक्रमण कमजोर भएको उनको विश्लेषण छ।

उता, अघिल्लो खेलमा फ्रान्सले दबाबका बीच संयमित प्रदर्शन गर्दै आफ्नो गहिरो टोलीको शक्ति देखाएको भन्दै सटनले फ्रान्सको जित हुने विश्वास व्यक्त गरेका छन्।

सटनको अनुमान: फ्रान्स २–१ मोरक्को

स्पेन बनाम बेल्जियम

सटनले स्पेनको अघिल्लो प्रदर्शनमा आक्रमण कमजोर देखिए पनि यसपटक टोलीले सुधार गर्ने अपेक्षा गरेका छन्। प्रतियोगिताभर स्पेनले हालसम्म कुनै गोल नखाएको तथ्यलाई उनले टोलीको सबैभन्दा ठूलो बल मानेका छन्।

बेल्जियमले अमेरिका विरुद्ध सहज जित निकाले पनि स्पेनको स्तर फरक हुने उनको भनाइ छ। मिडफिल्डर एमादु ओनानाको अनुपस्थितिले बेल्जियमलाई असर पर्ने उनले उल्लेख गरेका छन्।

सटनको अनुमान: स्पेन ३–० बेल्जियम

नर्वे बनाम इङ्ग्ल्यान्ड

सटनका अनुसार मेक्सिकोविरुद्ध इङ्ग्ल्यान्डले निकालेको ३–२ को जित प्रतियोगिताकै उत्कृष्ट खेलमध्ये एक थियो। १० खेलाडीमा सीमित हुँदा पनि टोलीले देखाएको संघर्ष र आत्मविश्वासले इङ्ग्ल्यान्डलाई थप बलियो बनाएको उनको विश्लेषण छ।

यद्यपि, एर्लिङ हालान्ड र मार्टिन ओडेगार्डको नेतृत्वमा रहेको नर्वेले पनि कडा चुनौती दिने उनको भनाइ छ। हालान्डको उत्कृष्ट लयलाई ध्यानमा राख्दै उनले नर्वेले गोल गर्ने सम्भावना देखे पनि अन्ततः इङ्ग्ल्यान्ड नै विजयी हुने अनुमान गरेका छन्।

सटनको अनुमान: नर्वे २–३ इङ्ग्ल्यान्ड

अर्जेन्टिना बनाम स्विट्जरल्यान्ड

साविक विजेता अर्जेन्टिनाले नकआउट चरणका दुवै खेलमा संघर्षपूर्ण जित निकाले पनि कठिन परिस्थितिबाट बाहिर निस्कने क्षमता देखाएको सटनको मूल्याङ्कन छ।

लियोनेल मेसीको अनुभव र निर्णायक क्षणमा खेल बदल्ने क्षमताले अर्जेन्टिनालाई फेरि अघि बढाउने उनको विश्वास छ। स्विट्जरल्यान्डको बलियो रक्षापंक्तिले खेललाई प्रतिस्पर्धात्मक बनाए पनि अन्ततः अर्जेन्टिना विजयी हुने उनले अनुमान गरेका छन्।

सटनको अनुमान: अर्जेन्टिना २–१ स्विट्जरल्यान्ड

क्रिस सटनको विश्लेषणअनुसार यसपटकको विश्वकपको सेमिफाइनलमा फ्रान्स, स्पेन, इङ्ग्ल्यान्ड र अर्जेन्टिना पुग्ने सम्भावना सबैभन्दा बलियो देखिएको छ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट