Techie IT
KTM Post
शुक्रबार, २६ असार, २०८३

सरकारले ल्याउँदै सवारी कन्भर्जन मापदण्ड, पेट्रोल–डिजेलका गाडी विद्युतीय, एलपीजी वा सीएनजीमा रूपान्तरण गर्न पाइने


काठमाडौं । सरकारले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनलाई वातावरणमैत्री प्रविधिमा रूपान्तरण गर्न नयाँ मापदण्ड लागू गर्ने तयारी गरेको छ। यातायात व्यवस्था विभागले ‘सवारीमा गरिने वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदलसम्बन्धी मापदण्ड, २०८३’ तयार गरी स्वीकृतिको प्रक्रियामा अघि बढाएको हो।

प्रस्तावित मापदण्डअनुसार अब जीवाश्म इन्धनबाट सञ्चालन हुने सवारीसाधनलाई विद्युतीय, एलपीजी वा सीएनजी प्रणालीमा रूपान्तरण गर्न सकिनेछ। यो व्यवस्था दुईपांग्रे, तीनपांग्रे, चारपांग्रे तथा १२ टनसम्मका मालवाहक सवारीमा समेत लागू हुनेछ।सरकारले यसअघि नै डिजेल र पेट्रोलबाट चल्ने सवारीलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्न कानुनी व्यवस्था गर्ने निर्णय गरिसकेको थियो। सोही निर्णय कार्यान्वयनका लागि विभागले विस्तृत मापदण्ड तयार गरेको हो।

मापदण्डअनुसार सवारी रूपान्तरणका लागि प्रयोग हुने किटले विभागबाट अनिवार्य रूपमा अनुपालन प्रमाणपत्र (कम्प्लाइन्स सर्टिफिकेट) प्राप्त गरेको हुनुपर्नेछ। किट उत्पादक वा आपूर्तिकर्ताले परीक्षणका लागि नमूना सवारी तयार गरी विभागबाट प्राविधिक परीक्षण गराउनुपर्ने व्यवस्था गरिएको छ।

रूपान्तरणको काम विभागबाट स्वीकृति प्राप्त गरेका कारखाना वा वर्कशपमा मात्रै गर्न पाइनेछ। त्यस्ता वर्कशपका प्राविधिकले आवश्यक तालिम प्राप्त गरेको हुनुपर्नेछ।सवारीधनीले पनि आफ्नो सवारी रूपान्तरण गर्नुअघि सम्बन्धित यातायात कार्यालयबाट अनुमति लिनुपर्नेछ। अनुमति पाएपछि ६० दिनभित्र रूपान्तरणको काम सम्पन्न गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

रूपान्तरण सम्पन्न भएपछि सम्बन्धित कार्यालयले प्राविधिक निरीक्षण गर्नेछ। निरीक्षण सफल भएपछि मात्रै सवारी दर्ता प्रमाणपत्रमा नयाँ विवरण अद्यावधिक गरिनेछ। दर्ता अद्यावधिक नभएसम्म सार्वजनिक सडकमा त्यस्ता सवारी सञ्चालन गर्न नपाइने व्यवस्था मापदण्डमा राखिएको छ।सुरक्षालाई ध्यानमा राख्दै उत्पादन भएको १५ वर्षभन्दा पुरानो एलपीजी ट्यांक तथा २० वर्षभन्दा पुरानो सीएनजी सिलिन्डर प्रयोग गर्न नपाइने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

विभागका अनुसार मापदण्ड लागू भएपछि हालसम्म रूपान्तरण गरिए पनि कानुनी आधार अभावमा सञ्चालन हुन नसकेका सवारीसाधनलाई नियमित रूपमा सडकमा चलाउन सकिनेछ। साथै, वातावरण प्रदूषण न्यूनीकरण र स्वच्छ ऊर्जाको प्रयोग विस्तारमा समेत यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट