Techie IT
KTM Post
शुक्रबार, २६ असार, २०८३

गणेश नेपाली प्रकरण: रास्वपा सांसदले उठाए सरकारको संवेदनशीलतामाथि प्रश्न


काठमाडौं । गणेश नेपालीको मृत्युपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सरकारलाई नीति तथा कार्यशैली पुनरावलोकन गर्न आग्रह गरेका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत मानवीय संवेदनशीलतालाई प्राथमिकतामा राख्दै यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।

रास्वपा सांसद गणेश कार्कीले नियम र कानुन नागरिकको हितका लागि हुने भएकाले त्यसको कार्यान्वयनका क्रममा मानवीय पक्षलाई बेवास्ता गर्न नहुने धारणा व्यक्त गरेका छन्।उनले कुनै नियमका कारण नागरिकले अत्यधिक कठिनाइ महसुस गर्ने अवस्था सिर्जना भए त्यसको पुनरावलोकन गर्नुपर्ने वा नागरिकलाई त्यसबारे अझ प्रभावकारी रूपमा जानकारी गराउनुपर्ने बताएका छन्।

कार्कीले नियम कार्यान्वयनभन्दा नागरिकको जीवन महत्वपूर्ण भएको उल्लेख गर्दै घटनालाई लिएर अनावश्यक पक्षपोषण नगर्न आफ्ना पार्टी समर्थकलाई पनि आग्रह गरेका छन्।यस्तै, रास्वपा सांसद रञ्जु दर्शनाले गणेश नेपाली आत्मदाहको प्रयाससम्म पुग्नुका कारणको गहिरो अध्ययन हुनुपर्ने बताएकी छन्। उनले त्यसबाट प्राप्त निष्कर्षका आधारमा सरकारलाई नीति सुधार गर्न सुझाव दिएकी छन्।

दर्शनाले आर्थिक, सामाजिक तथा मानसिक दबाबका कारण धेरै युवामा निराशा बढिरहेको उल्लेख गर्दै उनीहरूको जीवन सहज बनाउने खालका नीति आवश्यक रहेको बताएकी छन्।उनका अनुसार ‘मैले सकिन’ भन्ने अवस्था केवल कमजोर मनोबलको परिणाम मात्र नभई सामाजिक र आर्थिक चुनौतीको प्रतिफल पनि हुन सक्छ। त्यसैले मनोसामाजिक परामर्शसँगै रोजगारी, आधारभूत सेवा र सामाजिक सुरक्षाजस्ता विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

सांसद दर्शनाले सरकारले सबै नागरिकलाई एकैपटक सन्तुष्ट बनाउन नसके पनि विपन्न, श्रमिक र आर्थिक रूपमा कमजोर वर्गका नागरिकको पीडालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट