गणेश नेपाली आत्मदाह प्रयास- महानगर प्रहरीलाई सोधपुछका लागि भद्रकाली झिकाइयो
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको पार्किङ क्षेत्रमा बिहीबार गणेश नेपालीले गरेको आत्मदाह प्रयासको घटनापछि काठमाडौं महानगरपालिकाका पाँच नगर प्रहरीलाई सोधपुछका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा बोलाइएको छ।
प्रहरीका अनुसार नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउनुअघि र त्यसक्रममा भएका घटनाबारे जानकारी लिन दुई महिला नगर प्रहरीसहित पाँच जनासँग बयान तथा सोधपुछ भइरहेको हो।
घटनाका क्रममा ह्वील लक लगाएलगत्तै नेपालीले आफ्नै शरीरमा आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा रहेका नगर प्रहरीले तत्काल उद्धारमा सक्रिय भूमिका नखेलेको आरोपसमेत उठेको छ।
नेपालीको शरीरमा आगो तीव्र रूपमा फैलिएपछि राहदानी विभागमा ड्युटीमा रहेका नेपाल प्रहरीका सुरक्षाकर्मी र स्थानीय प्रत्यक्षदर्शीले आगो निभाई उनको उद्धार गरेका थिए। त्यसपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।
घटनाको वास्तविक कारण र नगर प्रहरीको भूमिकाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
बाइकमा ह्वील लक गरेलगत्तै उनले आफ्नो शरीरमा आगो लगाउना साथ त्यहीँ रहेको महानगरपालिका प्रहरीले खासै वास्ता गरेको थिएन । शरीरमा अत्यधिक आगो सल्किएपछि राहदानी विभागको ड्युटीमा रहेका प्रहरी र प्रत्यक्षदर्शीले नेपालीको उद्धर गरेका थिए ।
प्रहरीले महानगरपालिका प्रहरीका दुई महिलासहित पाँच जनालाई सोधपुछका लागि बोलाइएको जनाइएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया