Techie IT
KTM Post
शुक्रबार, २६ असार, २०८३

अमेरिका–इरान तनावबीच इजरायल सैन्य कारबाहीका लागि तयार


काठमाडौं । अमेरिका र इरानबिच पुनः चर्किएको सैन्य तनावका बिच इजरायल पनि फेरि युद्धमा सहभागी हुन सक्ने देखिएको छ।

इजरायलले आवश्यकता परेको खण्डमा इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न तयारी अवस्थामा रहेको जनाएको छ, तर यसका लागि उसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वीकृतिको पर्खाइ गरिरहेको छ।इजरायलको सार्वजनिक प्रसारक ‘कान’ र न्यूयोर्क पोस्टको प्रतिवेदन अनुसार, यरुशलमका केही वरिष्ठ अधिकारीहरूको बुझाइमा अमेरिका र इरानबिचको वर्तमान सैन्य टकराव आगामी केही दिनसम्म जारी रहन सक्छ। यस्तो अवस्थामा यदि वासिङ्टनले चाहेमा इजरायल पनि अमेरिकी अभियानको हिस्सा बन्न सक्नेछ।

एक इजरायली अधिकारीको भनाइ उद्धृत गर्दै भनिएको छ, “आवश्यकता परेमा हामी पुनः कारबाही गर्नेछौँ। हामीले यसअघि पनि अमेरिकासँगै उभिएर यो प्रमाणित गरिसकेका छौँ।” अधिकारीले कुनै पनि इजरायली नागरिक पुनः युद्धको स्थिति चाहँदैनन् भन्ने कुरा स्वीकार गर्दै, इरानका गतिविधिहरूलाई नजरअन्दाज गर्न नसकिने पनि प्रष्ट पारेका छन्।

अर्कोतर्फ, इजरायली रक्षा बल (आईडीएफ) का अधिकारीहरूले भने हालका लागि इजरायल अमेरिका र इरानबिच चलिरहेको प्रत्यक्ष सैन्य संघर्षमा सामेल हुने योजनामा नरहेको बताएका छन्।सेनाको मूल्यांकन अनुसार, वर्तमान अवस्थामा इरानले पनि इजरायललाई यस टकरावमा तान्न चाहिरहेको छैन र निकट भविष्यमा इजरायलमाथि कुनै ठुलो आक्रमणको आशंका न्यून छ। यद्यपि, सेनालाई जुनसुकै परिस्थितिको सामना गर्नका लागि पूर्ण रूपमा तयारी अवस्थामा राखिएको छ।

यसैबिच, अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले हालै गरिएका आक्रमणहरू हर्मुज स्ट्रेट भएर जाने व्यापारिक जहाजहरूमाथि भएका इरानी हमलाहरूको जवाफमा गरिएको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँग भएको अन्तरिम सम्झौता अब आफ्नो लागि समाप्त भइसकेको बताएका छन्। उनले अमेरिकाले वार्तामा धेरै समय गुमाएको उल्लेख गर्दै अब अगाडि वार्ता जारी राख्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट