सन् २०२० पछि पहिलोपटक विश्वव्यापी तेलको मागमा गिरावट आउने आइईएको प्रक्षेपण
काठमाडौं । पश्चिम एसियामा जारी इरान युद्धले उत्पादन र निर्यातमा ठूलो अवरोध पुर्याएपछि सन् २०२० पछि पहिलोपटक विश्वव्यापी तेलको मागमा गिरावट आउने देखिएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले शुक्रबार यस्तो जानकारी दिएको हो ।
सन् २०२६ मा विश्वव्यापी तेलको माग वार्षिक रूपमा १० लाख ब्यारल प्रतिदिनले घट्ने आईईएले आफ्नो पछिल्लो बजार प्रतिवेदनमा उल्लेख गरेको छ । यो सन् २०२० मा कोभिड–१९ महामारीको चरम अवस्थापछिको पहिलो वार्षिक गिरावट हुनेछ ।
तेल र ग्यासका लागि महत्त्वपूर्ण जलमार्ग हर्मुज जलयोजक बन्द हुँदा पर्सियाली खाडीबाट हुने निर्यात अवरुद्ध भएकाले यस वर्षको संकुचन क्षेत्रीय र उत्पादनका हिसाबले अत्यन्तै विषम देखिएको एजेन्सीले औंल्याएको छ ।
बजारमा केही सुधारका संकेतहरू देखिएको भए तापनि द्वन्द्वमा फेरि आउन सक्ने वृद्धिले अवस्थालाई जटिल बनाउन सक्ने र भविष्यको परिदृश्यलाई थप अन्योलपूर्ण बनाउन सक्ने चेतावनी अनुसन्धानकर्ताहरूले दिएका छन् ।
आईईएको यो प्रक्षेपण युद्धविराम हुने र हर्मुज जलयोजक बिस्तारै खुल्ने अनुमानमा आधारित छ । तर, यसै हप्ता अमेरिका र इरानबीच बढेको तनावले यो सम्भावना झन् अनिश्चित देखिँदै गएको छ । यस बीचमा धेरै जहाजहरूमाथि आक्रमण भएका छन् र हर्मुज जलयोजक हुँदै हुने यातायात फेरि ठप्प प्रायः भएको छ ।
‘यस वर्षको अन्त्यसम्ममा विश्वव्यापी तेल बजारको सन्तुलन फेरि बचततर्फ जाने देखिएको भए तापनि यो प्रक्षेपण जलयोजकबाट ट्यांकरहरूको आवतजावत विस्तारै पुनःस्थापित हुने अनुमानमा अडिएको छ । यसो भएमा मात्र उत्पादकहरूले तेल क्षेत्रहरू पुनः सुरु गर्न र पश्चिम एसिया तथा अन्यत्रका रिफाइनरीहरूले उत्पादन पठाउन सक्नेछन्,’ आईईएले लेखेको छ ।
‘खाडी क्षेत्रमा यस हप्ता फेरि भएका आक्रमणहरूले स्थायी शान्ति सम्झौता नहुँदाको जोखिमलाई प्रस्ट पारेका छन् जुन तेल बजारको सामान्यीकरणका लागि अनिवार्य शर्त हो ।’
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया