Techie IT
KTM Post
बिहीबार, ७ साउन, २०८३

भारतको पटनामा पनि चर्कियो विद्यार्थी आन्दोलन


काठमाडौं । भारतको राजधानी दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बिहारको राजधानी पटनामा बुधबार ‘अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन’ (आइसा) को आह्वानमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

यस प्रदर्शनमा आइसासँग आबद्ध विद्यार्थीका साथै अन्य विद्यार्थी संगठनका सदस्यहरू पनि सहभागी भएका छन् ।

प्रदर्शनकारीहरूको मार्च पटनास्थित गान्धी मैदानको गेट नम्बर १० बाट सुरु भई राजभवनसम्म पुग्ने कार्यक्रम थियो । तर, गान्धी मैदानस्थित जेपी गोलम्बर नजिकै प्रहरीले उनीहरूलाई रोकेपछि प्रहरी र विद्यार्थीबीच झडप भएको छ ।

यस क्रममा केही प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेको आरोप छ । त्यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहरा प्रयोग गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो ।

प्रहरीको कारबाहीका बाबजुद प्रदर्शनकारी विद्यार्थीहरू जेपी गोलम्बरमा नरोकी अगाडि बढ्दै डाकबंगला चोकसम्म पुगेका थिए । यस क्रममा विद्यार्थीहरूले लगातार गोदी मिडिया गो ब्याक भन्ने नारा लगाएका र प्रदर्शनका क्रममा धेरै सञ्चारकर्मी घाइते भएको पनि बताइएको छ ।

जेपी गोलम्बरमा प्रदर्शन सकिएको केही घण्टापछि ‘अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन’को ब्यानरमा विद्यार्थीहरू पुनः डाकबंगला चोकमा भेला भई राजभवनतर्फ अघि बढ्ने प्रयास गरेका संचारमाध्यमहरूले जनाएका छन् ।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधान र बिहारका शिक्षामन्त्री मिथिलेश तिवारीको राजीनामा माग गरेका थिए ।

साथै प्रश्नपत्र चुहावटमा संलग्नमाथि कडा कारबाही, शिक्षामा व्याप्त भ्रष्टाचार र निजीकरणको अन्त्य, जन्तरमन्तरमा जारी विद्यार्थी आन्दोलनप्रति ऐक्यबद्धता, ७.५ सीजीपीएको अनिवार्यता हटाउनुपर्ने, शुल्कवृद्धि फिर्ता गर्नुपर्ने, नन–नेट फेलोसिप लागू गर्नुपर्ने तथा पटना विश्वविद्यालयको स्वायत्तता कायम राख्नुपर्ने माग पनि अघि सारेका थिए ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट