Techie IT
KTM Post
शुक्रबार, ८ साउन, २०८३

देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना


काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ।अहिले देशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली हुनुका साथै तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी भेगमा सामान्य बदली र तराईमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

विशेषगरी लुम्बिनी प्रदेशका पहाडी भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभरको मौसम सामान्यतया बदली नै रहनेछ। रातको समयमा हिमाली तथा पहाडी भागका केही स्थान र मधेस प्रदेशबाहेक अन्य प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट