Techie IT
KTM Post
शुक्रबार, ८ साउन, २०८३

रास्वपा सांसदलाई कालोमसी दलेर दुर्व्यवहार


रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि सार्वजनिक कार्यक्रमबाट फर्किने क्रममा अज्ञात समूहले कालो मसी प्रहार गरेको घटना सार्वजनिक भएको छ। गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघाट’ कार्यक्रम सम्पन्न गरी फर्किने क्रममा शुक्रबार राति उक्त घटना भएको हो।सांसद पौडेलका अनुसार कार्यक्रम राति करिब ८ बजेदेखि सवा ८ बजेको बीचमा सकिएको थियो। स्थानीय नागरिकसँग मलखाद अभावलगायत विभिन्न समसामयिक विषयमा छलफल गरेर फर्किने तयारीमा रहेका बेला मास्क लगाएका २–३ जनाको समूह पछाडिबाट आएर चिनेजानेकै व्यक्तिले अँगालो हालेझैँ गर्दै उनको ढाडमा कालो मसी दलिदिएको थियो। त्यसलगत्तै उनीहरू घटनास्थलबाट फरार भएका थिए।

घटनापछि कार्यक्रममा उपस्थित स्थानीयवासी तथा समर्थकहरूले उनीहरूलाई पछ्याउने प्रयास गरे पनि अँध्यारोको मौका छोपेर आक्रमणकारी भाग्न सफल भएको बताइएको छ।सांसद पौडेलले घटनामा संलग्न व्यक्तिहरूको हातमा रातो झण्डा र केही पर्चा रहेको तथा उनीहरूले आफूलाई ‘मधेश मुक्ति अभियान’सँग आबद्ध समूहका रूपमा चिनाउने संकेत गरेको दाबी गरेका छन्।

घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराइएको र अनुसन्धान अघि बढाइएको उनले बताएका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न मुख्य व्यक्तिको पहिचान भएको प्रहरी स्रोतलाई उद्धृत गर्दै ‘फगु’ (वा ‘फुगु’) भनेर चिनिने एक व्यक्तिको नाम खुलेको दाबी गरिएको छ। यद्यपि घटनामा संलग्न कसैलाई पनि हालसम्म पक्राउ गर्न नसकिएको र खोजी कार्य जारी रहेको जनाइएको छ।

निर्वाचित जनप्रतिनिधिमाथि सार्वजनिक रूपमा भएको यस्तो घटनाले जिल्लाको राजनीतिक वृत्तमा चर्चा र चासो बढाएको छ। स्थानीय तहमा समेत राजनीतिक असहमति अभिव्यक्त गर्ने शैलीमाथि प्रश्न उठाउँदै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने आवाज उठ्न थालेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट