डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, पुराना प्रयोगकर्तालाई असोजसम्म समय
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वालेट प्रयोगकर्ताहरूका लागि राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गरेको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ मा नयाँ उपबुँदाहरू थप गर्दै यस्तो व्यवस्था लागु गरेको हो ।
यसअनुसार अब डिजिटल भुक्तानी सेवा प्रदायकहरूले ग्राहकको पहिचान र सुरक्षालाई थप सुदृढ बनाउन राष्ट्रिय परिचयपत्रको विवरणलाई मुख्य आधार बनाउनुपर्नेछ ।
अबदेखि अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरूले नेपाली नागरिकको वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखसँग मेल खाने गरी विवरण यकिन गरेर मात्र खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ ।
“हाल वालेट प्रयोग गरिरहेका ग्राहकहरूले अर्थात पुराना ग्राहकले २०८३ असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र भएरनभएको स्वघोषणा गर्नुपर्नेछ । यदि परिचयपत्र लिइसकेको भए सोही समयभित्र राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ,” संशोधित निर्देशनमा उल्लेख छ ।
राष्ट्रिय परिचयपत्र लिन बाँकी रहेका ग्राहकहरूको हकमा सम्बन्धित वालेट प्रदायकले ग्राहक पहिचान अद्यावधिक गर्न मोबाइल एप वा अन्य माध्यमबाट प्रत्येक महिना जानकारी दिनुपर्नेछ ।
विदेशमा रहेका नेपालीका लागि छुट
विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूले राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजातका आधारमा अनलाइनमार्फत वालेट खोल्न सक्नेछन् । तर, उनीहरू नेपाल फर्किएको ३५ दिनभित्र अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ ।
यससँगै, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकहरूको हकमा भने राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजातहरूको आधारमा वालेट खोल्न र कारोबार गर्न बाधा नपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरेको हो । केन्द्रीय बैंकले डिजिटल वित्तीय कारोबारलाई थप पारदर्शी र सुरक्षित बनाउन खोजेको बताएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया