किसानका खेतमै पुगेर मन्त्री गीता चौधरीको आग्रह: ‘माटो जोगाउन प्रांगारिक मल प्रयोग गरौं’
धनुषा। मधेश प्रदेशका कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले धनुषाका किसानको घरदैलोमै पुगेर प्रांगारिक मलको प्रयोग बढाउन आग्रह गरेकी छन्।धनुषाको कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै उनले स्थानीय किसानहरूसँग प्रत्यक्ष भेटघाट तथा विभिन्न कृषि फर्महरूको अवलोकन गरेकी हुन्।
खासगरी माटो सुधारको मुद्दा लिएर किसानको खेतबारीमा पुगेकी मन्त्री चौधरीले स्थानीय स्रोतबाटै तयार हुने गोठे मल तथा प्रांगारिक मलको प्रयोगमा जोड दिएकी छन्।माटो सुधार नै कृषि सुधारको मुख्य आधार भएको उल्लेख गर्दै उनले प्राङ्गारिक मलको प्रयोगले रासायनिक मलमाथिको निर्भरता घट्नुका साथै माटोको उर्वरशक्तिमा दीर्घकालीन सुधार आउने बताइन्।
भ्रमणका क्रममा मन्त्री चौधरीले लक्ष्मीनियाँ गाउँपालिका-७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित कस्टम हायरिङ केन्द्रको निरीक्षण गरिन्, जहाँबाट किसानहरूलाई आधुनिक कृषि उपकरणहरू सहुलियत दरमा भाडामा उपलब्ध गराइँदै आएको छ।यसैगरी उनले बटेश्वर गाउँपालिका-५ स्थित अन्नपूर्ण माछापालन कम्पनी प्रा.लि. को अवलोकन गर्दै त्यहाँ भइरहेको व्यावसायिक माछापालन, भुरा तथा दाना उत्पादनको जानकारी लिइन्। त्यसैगरी मन्त्री चौधरीले धनुषाको चित्रनगरस्थित आँप बगैँचाको समेत निरीक्षण गरेकी छन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया