Techie IT
KTM Post
सोमबार, ११ साउन, २०८३

सुनसरी झडप प्रकरण: निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता


काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको ध्यानाकर्षण गराएको छ।

झडपमा परी एक युवकको मृत्यु हुनुका साथै सुरक्षाकर्मीसहित २२ जना घाइते भएपछि उत्पन्न परिस्थितिलाई लिएर रास्वपाका प्रमुख सचेतक प्रकाशचन्द्र परियार, सांसद दीपककुमार साह तथा नेता वीरेन्द्र केएमको टोलीले सोमबार गृहमन्त्री सुधन गुरुङसँग भेटघाट गरी छलफल गरेको हो।भेटका क्रममा रास्वपा नेताहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्नेमा जोड दिँदै दोषी जोसुकै भए पनि कानुनबमोजिम कडा कारबाही हुनुपर्ने र पीडित पक्षले न्याय पाउनुपर्ने माग गरे।

सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव नै मुलुकको साझा शक्ति भएको उल्लेख गर्दै रास्वपा टोलीले सबै पक्षलाई शान्ति, संयमता र कानुनी प्रक्रियामा विश्वास राख्दै समाजमा सद्भाव कायम राख्न अपिलसमेत गरेको छ। झडप र तनावपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिसकेको छ।रास्वपा प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा गृहमन्त्री सुधन गुरुङले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।

गृहमन्त्री गुरुङले घटनालाई राजनीतिक वा धार्मिक रूपमा उग्र र साम्प्रदायिक बनाउने प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै धार्मिक आवरणमा अवैध तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याइने बताए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट