भुक्तानी रोकिँदा गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण ठप्प
काठमाडौं । चितवनको भरतपुर स्थित गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण कार्य भुक्तानी समस्याका कारण रोकिएको छ। निर्माण कम्पनीले करिब १० करोड रुपैयाँ भुक्तानी नपाएको भन्दै पछिल्ला १५ दिनदेखि काम पूर्ण रूपमा बन्द गरेको जनाएको हो।
निर्माण कम्पनी हिमालयन कालिञ्चोक बिबिआर जेभीका अनुसार गत पुस र फागुन महिनामा पेश गरिएका दुई वटा बिलको रकम अझै प्राप्त भएको छैन। बिल भरतपुर महानगरपालिका मा बुझाइए पनि प्रदेश सरकारबाट आउने रकम ढिलो हुँदा भुक्तानी प्रक्रिया अघि बढ्न नसकेको महानगरले जनाएको छ।
ठेक्का सम्झौताको म्याद सकिन अब करिब सात महिना मात्र बाँकी रहँदा परियोजनाको भौतिक प्रगति ५० प्रतिशतभन्दा केही बढी पुगेको छ। निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर प्रविन क्षेत्रीका अनुसार पहिलो टावरको मुख्य काम सम्पन्न हुने चरणमा पुगेको छ भने दोस्रो टावरमा तेस्रो तलाको संरचना निर्माणको तयारी भइरहेको थियो।
त्यसैगरी प्याराफिट, भूमिगत विद्युत लाइन, पानी पाइपिङ, ड्रेनेज र पहुँच सडक निर्माणको काम पनि जारी रहेका बेला रोकिएको हो। मैदान तथा पिच निर्माणका लागि आवश्यक सामग्री ल्याउने कामसमेत प्रभावित बनेको छ।
निर्धारित समयमा काम सम्पन्न हुने सम्भावना कमजोर बन्दै गएपछि निर्माण कम्पनीले म्याद थपको तयारी गरेको जनाएको छ। तर भुक्तानी निकासा भएर काम पुनः सुरु भएपछि मात्रै म्याद थप प्रक्रिया अघि बढाइने बताइएको छ।
रंगशाला निर्माणका लागि २०८१ असारमा ७५ करोड ५० लाख रुपैयाँभन्दा बढी लागतमा सम्झौता गरिएको थियो। सम्झौताअनुसार २०८३ पुस २२ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ। यसअघि धुर्मुस–सुन्तली फाउन्डेसन ले पाँच हजार दर्शक अट्ने प्याराफिट निर्माण गरिसकेको थियो भने अहिले थप १० हजार क्षमता विस्तारसहित अन्य पूर्वाधार निर्माण भइरहेको छ।
परियोजनाको कुल लागतको ७० प्रतिशत रकम प्रदेश सरकारले व्यहोर्नेछ भने बाँकी रकम महानगरपालिका र संघीय सरकारले जुटाउने योजना छ। तर चालु आर्थिक वर्षमा संघीय सरकारले बजेट विनियोजन नगरेपछि निर्माण प्रभावित बनेको हो। अघिल्लो आर्थिक वर्षमा विनियोजन गरिएको २५ करोडमध्ये १० करोड रुपैयाँ समयमै खर्च हुन नसक्दा फ्रिज भएको थियो।
क्याटेगोरी : समाचार










प्रतिक्रिया