जनादेशको सम्मान हुने गरी न्यायालय पुनर्संरचना आवश्यक : महेश्वर दाहाल
काठमाडौं । स्वतन्त्र वामपन्थी नेता महेश्वर दाहालले नेपालमा न्यायालय पुनर्संरचनाको आवश्यकता औंल्याएका छन् । उनले अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्दै जनादेशको सम्मान हुने गरी न्याय प्रणालीलाई परिवर्तन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दाहालले सन् २००० को अमेरिकी राष्ट्रपति निर्वाचनको उदाहरण प्रस्तुत गरेका छन् । उनले रिपब्लिकन उम्मेदवार जर्ज डब्लु बुश र डेमोक्रेटिक उम्मेदवार अल गाेरबीच भएको प्रतिस्पर्धालाई उल्लेख गरेका छन् ।
दाहालका अनुसार उक्त निर्वाचनमा फ्लोरिडा राज्यमा केवल ५३७ मतको अन्तर देखिएपछि पुनः मतगणनाको माग उठेको थियो । तर अमेरिकी सर्वोच्च अदालतले ५–४ को बहुमत निर्णयमार्फत पुनः मतगणना रोकिदिएको थियो । त्यसपछि फ्लोरिडाका २५ इलेक्टोरल मत बुसको पक्षमा गएको र उनी २७१ इलेक्टोरल मतसहित राष्ट्रपति निर्वाचित भएको उल्लेख उनले गरेका छन् । अल गोर भने २६६ इलेक्टोरल मतमा सीमित भएका थिए ।
दाहालले अमेरिकामा सर्वोच्च अदालतका न्यायाधीशहरूको नियुक्ति राष्ट्रपतिको नामांकन र प्रभावसँग जोडिने भएकाले न्यायिक निर्णयमा राजनीतिक असर देखिने तर्क पनि गरेका छन् ।
उनले नेपालमा पनि पुरानो संरचना र परम्परालाई परिवर्तन गर्दै जनादेशको सम्मान हुने किसिमले न्यायालयको पुनर्संरचना आवश्यक रहेको बताएका छन् । दाहालले अन्तर्राष्ट्रिय राजनीतिक तथा न्यायिक अनुभवबाट शिक्षा लिएर नेपालको न्याय प्रणालीलाई समयानुकूल सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया