Techie IT
KTM Post
बिहीबार, ३१ वैशाख, २०८३

सिन्धुली हिरासत मृत्यु प्रकरण : इन्स्पेक्टरसहित प्रहरी कर्मचारीमाथि कारबाही सिफारिस


काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएका श्रीकृष्ण बिकको मृत्यु भएको घटनाबारे छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका डीआईजी दिनेश आचार्य नेतृत्वको समितिले आईजीपी दान बहादुर कार्कीलाई प्रतिवेदन बुझाएको हो । समितिले वैशाख २९ मा प्रतिवेदन बुझाएको र सो प्रतिवेदन गृह मन्त्रालयमा पठाइएको जनाइएको छ ।

पोस्टमार्टममा ४ जना चिकित्सक संलग्न रहेको र पोस्टमार्टम रिपोर्टमा पनि कुटपिट र निलडाम भएको रिपोर्ट नआएको जनाइएको छ । छानबिन समितिले इलाका प्रहरी कार्यालय खुर्कोटका इन्स्पेक्टर वसन्त भुजेल र घटना भएको दिन हिरासत कक्षमा ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

वैशाख ११ मा गठन भएको छानबिन समितिमा एसपी रवीन्द्रनाथ पौडेल, सीआईबीमा कार्यरत इन्स्पेक्टर ईन्द्रजित सुनार, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रेम रेग्मी र प्रहरी नायव निरीक्षक ९सई० राजेश्वर सापकोटा सदस्य थिए । समितिलाई ७ दिनमा छानबिन सकेर प्रतिवेदन बुझाउन भनिएको थियो । तर, पोस्टमार्टम रिपोर्ट ढिला हुँदा छानबिन लम्बिएको अधिकृतहरू बताउँछन् ।

समितिले प्रहरी हेडक्वार्टरलाई हिरासतमा झुन्डिएर मृत्यु हुने घटना नियन्त्रण गर्नेबारे लामो सुझाव दिएको छ । हिरासतमा मानव अधिकार र मौलिक अधिकारको रक्षाबारे सुझाव दिइएको छानबिन समिति जनाइएको छ ।

प्रहरी युनिटभित्र सेवाग्राही र थुनुवाको सुरक्षाको दायित्व इन्चार्जको हुने हुनाले सुरक्षा व्यवस्था मजबुत बनाउन सुझाव दिइएको जनाइएको छ ।

श्रीकृष्ण झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीले उनलाई शुरुमा सुनकोशी सामुदायिक अस्पताल र त्यसपछि सिन्धुलीमाडी स्थित जिल्ला अस्पतालमा लगेको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट