२२ वर्षपछि अघि बढ्यो ८२८ मेगावाटको उत्तरगंगा
काठमाडौं । बाग्लुङको ढोरपाटनमा निर्माण हुने बहुप्रतीक्षित ८२८ मेगावाट क्षमताको ‘उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना’ बन्ने प्रक्रिया अगाडि बढेको छ । २०६१ देखि चर्चामा रहँदै आएको यो आयोजना ढिलोगरी बन्ने प्रक्रियामा गएको हो ।
निर्माणमा ढिलाई हुँदा लागत अनुमान गरिएभन्दा निकै महँगो पर्ने भएको छ । १.०८ मिलियन अमेरिकी डलर (१ खर्ब ६४ अर्ब रुपैयाँ) कुल लागतमा बन्ने यो आयोजनाको प्रतिमेगावाट लागत १९ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ ।
सुरूवातमा प्रतिमेगावाट साढे १७ करोड रुपैयाँमा बन्ने अनुमान गरिएकामा यो परियोजना नेपाली मुद्राको तुलनामा डलरको भाउ बढ्दा महँगो बन्ने भएको हो । यद्यपि यो अन्य आयोजनाभन्दा सस्तो आयोजना हुने बनाइएको छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी ‘उत्तरगंगा पावर कम्पनी लिमिटेड’ले अघि बढाएको यो आयोजनाले १० वर्षभित्रै उत्पादन थाल्ने लक्ष्य छ । यो आयोजना सम्पन्न भएपछि हिउँदको पिक समयमा हुने लोडसेडिङको अन्त्य र ऊर्जा सुरक्षामा ठूलो योगदान पुग्ने देखिएको छ ।
विसं, २०६१ देखि चर्चामा रहेको यो आयोजनाको ईआईए २०७६ मा वन तथा वातावरण मन्त्रालयमा बुझाइएकोमा ४ वर्षपछि २०८० मा स्वीकृत गरिएको थियो ।
बागलुङ जिल्लामा रहेको यो आयोजनाको मुख्य संरचना ढोरपाटन नगरपालिका-९ र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा रहनेछ । उत्तरगंगा नदीको पानीलाई थुनेर निसीखोला गाउँपालिका-४ र ५ मा खसाल्ने गरी यसको डिजाइन गरिएको छ । समुद्री सतहबाट १३५० मिटरको ‘ग्रस हेड’ भएको यो आयोजनाले ७९.०६ घनमिटर प्रतिसेकेन्डको बहावलाई प्रयोग गर्ने सूचनामा उल्लेख छ ।
आयोजनाका लागि उत्तरगंगा नदीमा समुद्री सतहबाट २०० मिटर अग्लो र ८४० मिटर लामो ‘रक-फिल’ बाँध निर्माण गरिनेछ । यसबाट १४ किलोमिटर लामो र १२.१७८ वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने विशाल जलाशय बन्नेछ ।
यसको कुल भण्डारण क्षमता ४५५.९५ मिलियन घनमिटर र उपयोगी क्षमता ४१९.९८ मिलियन घनमिटर रहनेछ ।
यो जलाशयको आयु करिब ५० वर्ष हुने अनुमान गरिएको छ। जलाशयको पानीलाई ६.५१ किलोमिटर लामो र ७ मिटर व्यास भएको मुख्य सुरुङ मार्फत लगिनेछ। आयोजनामा दुईवटा ठूला भूमिगत विद्युतगृह रहनेछन् ।
पहिलो विद्युतगृह (४२० मेगावाट): समुद्री सतहबाट २२०० मिटर उचाइमा रहने यस विद्युतगृहमा १०६.५ मेगावाट क्षमताका ४ वटा भर्टिकल शाफ्ट पेल्टन टर्बाइन र १२३.५ एमभीए क्षमताका ४ वटा सिन्क्रोनस जेनेरेटर रहनेछन् ।
दोस्रो विद्युतगृह (४०८ मेगावाट): पहिलो विद्युतगृहबाट निस्किएको पानीलाई ३५० मिटर लामो ‘रिटेन्सन पूल’ मा जम्मा गरी पुनः प्रयोग गरिनेछ। १५३७ मिटरको उचाइमा रहने यस दोस्रो विद्युतगृहमा पनि १०६.५ मेगावाटका ४ वटा टर्बाइन र १२० एमभीए क्षमताका ४ वटा जेनेरेटर रहनेछन् ।
उत्पादित विद्युतलाई १.२५ र १.५ किलोमिटर लामा ४०० केभीका डबल सर्किट प्रसारण लाइनमार्फत बागलुङको निसी सब-स्टेशनमा जोडिनेछ । आयोजना स्थलसम्म पुग्नका लागि बाँध क्षेत्रमा १६.१८ किलोमिटर र विद्युतगृह क्षेत्रमा २५.१३ किलोमिटर लामो पहुँच मार्ग निर्माण गरिनेछ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन २०८० माघ २ गते स्वीकृत भइसकेको छ। वातावरणीय सन्तुलनका लागि उत्तरगंगा नदीमा बाह्रै महिना न्यूनतम ३.५२ घनमिटर प्रतिसेकेन्ड पानी छाडिनेछ ।
आयोजनाले २०९२ सालदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । उक्त बागलुङको ढोरपाटनबाट बग्ने उत्तरगङ्गा नदी उपत्यकामा बाँध बाँधेर हिउँद र बर्खामा समान विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाको रहेको छ ।
ढोरपाटनको उत्तरगङ्गा नदीमा दुई सय मिटर अग्लो बाँध बाँधेर जम्मा गरेको पानीलाई सुरुङमार्ग हुँदै एक हजार छ सय ३४ मिटर तल खसालेर निसीखोलामा झार्ने सम्भाव्यता अध्ययनमा उल्लेख गरिएको छ ।
विद्युत विभागले बागलुङ जिल्लामा निर्माण हुने बहुप्रतिक्षित ८२८ मेगावाट क्षमताको ‘उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना’ को विस्तृत विवरण सार्वजनिक गरेको छ । विभागले यो आयोजना निर्माण गर्दा कसैलाई प्रतिकूल असर पर्ने भएमा यो सूचना प्रकाशित भएको ३५ दिनभित्र विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा लिखित सुझाव वा प्रतिक्रिया दिन आह्वान गरेको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया