हरिबाेलले मागे केपी र प्रचण्डको राजीनामा
काठमाडौं । प्रभावशाली कम्युनिष्ट नेता हरिबोल गजुरेलले पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली को राजीनामा माग गरेका छन्। उनले वर्तमान नेतृत्व असफल भएको आरोप लगाउँदै आत्मालोचना र प्रायश्चितसहित नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गजुरेलले २०७४ सालको वाम गठबन्धन र त्यसपछि भएको पार्टी एकतालाई “देश र कम्युनिष्ट आन्दोलनलाई दुर्घटनातर्फ पुर्याउने प्रक्रिया” का रूपमा व्याख्या गरेका छन्। उनले तत्कालीन अवस्थामा संघीय संसदमा दुईतिहाइ बहुमत प्राप्त गरेपछि आलोपालो प्रधानमन्त्री हुने गोप्य सहमतिका आधारमा पार्टी एकता गरिएको दाबी गरेका छन्।
गजुरेलले त्यसबेला पार्टी फुटबाट जोगाउन र सरकारलाई पाँच वर्ष टिकाउन आफूहरूले प्रयास गर्दा उल्टै भ्रम फैलाइएको उल्लेख गरेका छन्। अहिले जनताबाट अलगथलग परेका नेताहरू फेरि कम्युनिष्ट एकताको नाममा कार्यकर्ता र जनतालाई भ्रमित गर्न सक्रिय भएको उनको आरोप छ।
उनले लेखेका छन्, “वास्तविक समाधान भनेको असफल नेतृत्वले आत्मालोचना र प्रायश्चितको भावसहित राजीनामा गर्नु हो।” साथै उनले सबै कम्युनिष्ट पार्टीभित्र रहेका “सापेक्षिक क्रान्तिकारी शक्तिहरू” लाई वृहद् वाम ध्रुवीकरण र सिद्धान्तनिष्ठ पार्टी एकताका लागि अघि बढ्न आह्वान गरेका छन्।
गजुरेलको यो अभिव्यक्ति पछिल्लो समय कम्युनिष्ट आन्दोलनभित्र देखिएको वैचारिक विभाजन, नेतृत्वप्रति बढ्दो असन्तुष्टि तथा नयाँ ध्रुवीकरणको बहसका बीच आएको हो। विशेषगरी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटनपछि विभिन्न कम्युनिष्ट धारबीच एकता र पुनर्गठनको बहस पुनः तीव्र बनेको छ।
उनको अभिव्यक्तिलाई कम्युनिष्ट आन्दोलनभित्र नेतृत्व परिवर्तनको बहसलाई थप तीब्र बनाउने संकेतका रूपमा समेत हेरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया