सम्भावित खडेरीबाट बच्न भारतद्धारा चिनी निर्यातमा प्रतिवन्ध
काठमाडौं । पर्याप्त संचिति हुँदा हुँदै पनि भारतले नेपालसहितका देशमा चिनी निर्यातमा प्रतिवन्ध लगाउनुको वास्तविक कारण सम्भावित खडेरी भएको रहस्य खुलेको छ ।
नेपाल र भारतको भौगोलिक अवस्थामा धेरै कुरा फरक छ । तर, पहाडी भूभाग र कतिपय वातावरणीय अवस्था उस्तै छ । अहिले नेपालमा जस्तै भारतमा पनि विगतमा भन्दा धेरै वर्षा भइरहेको छ, जबकी वर्षातकाे समय आउन बाँकी नै छ ।
मौसमविद्हरुले यसपटक वर्षातको समय (नेपालमा असार-साउन र भारतमा जुन-जुलाई) मा आकासबाट पानी नपर्ने वा निकै कम परेर खडेरी पर्ने चेतावनी दिएका छन् । त्यस्तो अवस्थामा यस पटक धानसहित उखु बाली समेत नराम्ररी प्रभावित हुन सक्छ । उत्पादन घट्न सक्छ ।
‘समस्या अहिलेको होइन, आउँदो सिजन र वर्षको हो । यो वर्ष खडेरी पर्दा त्यसको असर आउँदो वर्षको उत्पादनमा पर्नेछ र भारतमा उखु कम उत्पादन भएर चिनी अभाव सृजना हुन सक्छ । त्यस्तो अवस्था नआओस भनेर सरकारले अहिलेदेखि नै सावधानी अपनाएको छ,’ सम्वद्ध सरकारी अधिकारीहरुको भनाई भन्दै इण्डियन एक्सप्रेसले लेखेको छ । भारत सरकारले १३ मईदेखि सेप्टेम्बर अन्त्यसम्म चिनी निर्यातमा रोक लगाएको छ । तर, अवस्था हेरेर त्यो समय थप हुनसक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।
उत्पादन र आपूर्तिको हिसाबले भारतमा चिनीको समस्या छैन । सन् २०२५ मा भारतमा २ करोड ८० लाख चिनी खपत भएको थियो भने उत्पादन २ करोड ७९ लाख टन भएको थियो । अघिल्लो वर्षको स्टक करिब ५० लाख टन थियो । त्यही हुनाले भारतमा चिनी प्रयाप्त थियो र सरकारले उद्योगहरुलाई २० लाख टन चिनी नेपालसहितका विभिन्न देशहरुमा बिक्रीको लागि अनुमति दिएको थियो । तर, यसपटक खडेरी परेर उत्पादन चक्र खल्बलिन सक्ने विश्लेषण गरेर सरकारले चिनी निर्यातमा रोक लगाएको हो । सरकारी निर्णयले एकातिर चिनी आपूर्तिको समस्या नहुने, आन्तरिक बजार प्रणालीमा कुनै अनिश्चितता उत्पन्न नहुने र मूल्य वृद्धि तथा कालो बजारीको समस्या पनि नहुने दावी गरिएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया