रास्वपाले बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसको प्रश्न– ‘के रास्वपा संविधानभन्दा माथि हो?’
काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रश्न उठाएको छ।
आइतबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेस सांसद रेनुका काउँचाले रास्वपाको हालै सम्पन्न महाधिवेशनमा सार्वजनिक भएको सदस्यता विवरणप्रति सभामुखको ध्यानाकर्षण गराएकी हुन्।उनले रास्वपाको सदस्यतामा १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिका रहेको तथ्य सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे स्पष्टता मागिन्।
‘रास्वपाको महाधिवेशनमा सार्वजनिक भएको तथ्यांकले १८ वर्षभन्दा मुनिका ३५ हजारभन्दा बढी बालबालिका सो पार्टीका सदस्य रहेको देखिन्छ,’ सांसद काउँचाले भनिन्, ‘हाम्रो संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरेको छ। १८ वर्षभन्दा मुनिका बालबालिकालाई पार्टी सदस्य र राजनीतिक गतिविधिमा सहभागी गराए ८० हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद हुने व्यवस्था छ। के रास्वपा संविधानभन्दा माथि हो?’
उनले बालबालिकालाई कुनै पनि राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने संवैधानिक तथा कानुनी प्रावधानको कार्यान्वयनतर्फ सरकारको ध्यानाकर्षण गराइन्।
‘बालबालिकाको मतको भर्याङ चढेर रास्वपामा धेरै नेता निर्वाचित भएका छन्,’ उनले भनिन्, ‘विद्यार्थीले राजनीति गर्न नहुने भन्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने तयारीमा रहेको सरकारले यस विषयमा पनि गम्भीर ध्यान दिनुपर्छ।’
यसअघि बैठक सुरु हुनासाथ राप्रपाका सांसद ज्ञानेन्द्र शाहीबाहेक विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डीपी अर्यालले विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्न समय उपलब्ध गराएका थिए।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया