भैरहवा मालपोतका नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा, २ लाख घुस लिएको आरोप
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवामा कार्यरत नायव सुब्बा ओमबहादुर खाम्चाविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार खाम्चाले जग्गाको नयाँ स्रेस्ता कायम गर्ने, नामसारी तथा अपुताली जग्गाको दाखिला प्रक्रिया मिलाइदिने बहानामा सेवाग्राहीसँग रकम माग गरेका थिए। उजुरीपछि अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।
अनुसन्धानका क्रममा उनले जिर्ण स्रेस्ता कायम गर्ने लगायतका काम गरिदिएबापत सेवाग्राहीसँग मोलमोलाइ गरी रकम असुलेको पुष्टि भएको आयोगको दाबी छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत खाम्चाविरुद्ध दुई लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ र पारदर्शी बनाउन भ्रष्टाचारविरुद्धको अनुसन्धान तथा कारबाहीलाई निरन्तर अघि बढाइने उल्लेख गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया