Techie IT
KTM Post
सोमबार, १८ जेठ, २०८३

स्वर्ग र नर्क : सी र ट्रम्प


काठमाडौं । केही बर्खाअघि केपी ओलीले प्रचण्डलाई सिधै भाकामा स्वर्ग र नर्क जता गएपनि संगै जाने संगै मर्ने कसम खाएर फास्लाङ्गफुस्लुङ्ग पारेका थिए । ओलीको यहि आश्वासनमा लट्ठ परेर प्रचण्ड आफ्नो नेतृत्वको सरकार बच्ने कुरामा ढुक्क भएर सुते । तर आधारातमा ‘दहीचिउरे’ बैठक गरेर ओलीले गठबन्धन तोडिदिए । ओलीको शारिरीक भाका नबुझ्दा प्रचण्ड बल्ड्याङ्ग खान पुगे ।

अक्सर कुटनीतिमा शारिरीक भाका पढ्ने गरिन्छ । तर जब राजनीतिमा पनि शारिरीक भाकाको अर्थ लाग्न थाल्छ तब राजनीतिक मार्ग अनेक घुम्तीमा गएर ठोक्किन्छ । त्यसपछि प्रचण्डलाई दोबाटोमै छोडेर ओली देउपासंग स्वर्ग जान कुलेलम ठोके । कांग्रेस एमालेको गठबन्धन सरकार बन्यो । तर कुबेलैमा जेन्जी विद्रोहको तुफानमा परेर झण्डै वित्तलमा परेनन् । यतिकैमा देउपा त मायानगरी हङ्गकङ्ग तीर लागेका छन । ओली भने ढीट कसेर गुण्डुतीर बेलाकुबेला गुन्गुनाउँछन बेअर्थको राजनीतिक धुन ।

यस्तै प्रकृतिको हावादारी अश्वासन त हैन । हालै विश्व कुटनीतिको शान्त खेलाडि चिनले अमेरिकालाई वैश्विक राजनीतिको कुटनैतिक जबाफ खापेको छ । चिनिया राष्ट्रपति सि जिनिपङ्ले धेरै कुरा त बोलेनन तर शारिरीक भाकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जति विश्लेषण गरे पनि अन्त्य नखुट्टिने भाकामा सम्झाए ।

चिनको वैभव, पुरानो परम्परागत सभ्यता, हजारौं वर्ष पुरानो ठिङ्ग उभिएको रुख (बगैंचा), द ग्रेट हल अफ द पिपुल, टेम्पल अफ हेवेन देखाएर शारिरीक भाकामा सबै कुरा भन्न भ्याएका छन । विश्वका नेतालाई अपवादमा मात्र लगिने त्यस्ता घर र स्थानहरुमा ट्रम्पलाई पुर्याईएको अर्थपूर्ण अर्थ आउनेनै छ । चीन अमेरिका सम्बन्धको व्यवहारिक कार्यान्वयनले मात्र यसको प्रस्ट उत्तर दिनेछ ।

विश्व राजनीतिका घागडान खेलाडी अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिनीया राष्ट्रपति सि जिनपिङ्ले स्वर्ग जाने मन्दीर (टेम्पल अफ हेवेन) र नर्क जाने धराप थ्युसीडाइटस धराप (Thucydides Trap)को बारेमा संक्षेपमा जे बोले त्यो नै आजको वैश्विक राजनीतिको कुटनीतिक मेलो हो। अर्को समृद्धि, सभ्यताको टेम्पल अफ हेवेनको बाटो जाने की दूर्दषाको थ्युसीडाइटस धरापमा फस्ने दुईवटा मात्र मार्ग भएको दीक्षा दिएर सिले ट्रम्पलाई विदावारी गरेका छन ।
संक्षेपमा दुइ मार्गको परिचय

पहिलो मार्ग : थ्युसीडाइटस ट्र्याप (Thucydides Trap)

पुरानो शक्तिशाली देश र छिटो शक्तिशाली बन्दै गएको देशबीच पैदा हुने डर, प्रतिस्पर्धा र तनावका कारण युद्ध हुनसक्ने अवस्थालाई थ्युसीडाइटस धराप भन्ने जनाउँछ। एथेन्स र स्पार्टाबीच भएको युद्धको अध्ययन गर्दा यो विचार प्राचीन ग्रीक इतिहासकार थ्युसीडाइटसले दिएका थिए । उनले भनेका थिए, ‘एथेन्सको शक्ति बढ्नु र त्यसबाट स्पार्टामा उत्पन्न डरले युद्ध गरायो।’ पुरानो महाशक्ति र उदाउँदै गरेको नयाँ शक्तिबीचको प्रतिस्पर्धाले युद्धतर्फ धकेल्न सक्छ भन्ने अवधारणा नै थ्युसीडाइटस धराप हो।

थ्युसीडाइटस धराप (Thucydides Trap) युनानी इतिहासकार थ्युसीडाइटस (Thucydides) को नामबाट लिइएको आधुनिक राजनीतिक अवधारणा हो। यो मिथक वा पुराण होइन, बरु ऐतिहासिक विश्लेषण हो। यस्तो अवधारणाको सटिक विश्लेषणले मात्र आजको वैश्विक आरोह अवरोह जान्ने अवसर मिल्छ ।

थ्युसीडाइटसले आफ्नो पुस्तक पेलोपोनेसियनको युद्ध इतिहास (History of the Peloponnesian War) मा उल्लेख गरेका छन, ‘एथेन्सको उदय र स्पार्टाको मनमा उत्पन्न भएको डरले युद्ध अनिवार्य बनायो ।’ एथेन्सको शक्तिवर्धक उदय स्पार्टाको विनससंग सम्बन्धित ठहर्याइयो । अर्थात्: एउटा उदाउँदो शक्ति (Rising Power) ले स्थापित शक्ति (Established Power) लाई चुनौती दिँदा प्रायः युद्ध हुने प्रवृत्ति नै थ्युसीडाइटस धराप हो । यो अवधारणा बनेको घटना आजभन्दा करिब २४/२५ सय वर्षअघिको हो। प्राचीन ग्रीसमा ईसा पूर्व पाँचौ शताब्दीमा यो दूर्घटना भएको थियो। सन् १९९० अघि शितयुद्धको समयमा सोभियत संघ र अमेरिकासंलग्न जति पनि प्रोक्सी युद्धहरु भए ती युद्धहरु पनि यहि अवधारणासंग मेल खान्छ । पहिलो दोस्रो लगायत अनेकान युद्धहरु पनि यसै अवधारणा अन्तर्गत भएको मान्न सकिन्छ ।

एतिहासिक घटनाक्रम :

त्यो समयमा एथेन्स शक्तिशाली बन्दै गइरहेको थियो । समुद्री र आर्थिक शक्तिमा एथेन्स द्रुत विकासको गतिमा थियो । यता स्पार्टा पुरानो सैनिक महाशक्ति थियो । एथेन्सको बढ्दो शक्ति देखेर स्पार्टामा डर र असुरक्षा बढ्दै गयो । यही तनावपछि ईसा पूर्व ४३१ मा दुबै देशमा ठूलो युद्ध सुरु भयो । यो युद्ध, ईतिहासमा पेलोपोनेसियन युद्धको नामले चिनिन्छ । युद्ध करिब २७ वर्षसम्म चल्यो। एथेन्ससँग बलियो नौसेना थियो । स्पार्टासँग शक्तिशाली थलसेना थियो । लामो युद्ध, रोग, आर्थिक संकट र आन्तरिक संघर्षका कारण अन्ततः एथेन्स कमजोर भयो । स्पार्टाले युद्धमा विजय हासिल गर्‍यो । संक्षेपमा एथेन्सको शक्ति बढ्दा स्पार्टा डराएको थियो । त्यसैकारण एक अर्का देशलाइ कमजोर बनाउन ठूलो युद्ध भयो । यहि उदाहरणलाई आज थ्युसीडाइटस धराप भनिन्छ । सिले ट्रम्पलाइ सुझाएको यहि अवधारणा हो ।

सन्दर्भ सि जिनपिङ र ट्रम्प :

१४ मे २०२६, बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङले यो शब्द प्रयोग गरेका थिए। सि जिनपिङले प्रश्न गरेका थिए: “के चीन र अमेरिका थ्युसीडाइटस धरापबाट बच्न सक्छन् र ठूला देशहरुबीचको नयाँ सम्बन्धको ढाँचा बनाउन सक्छन् ?” उनको भनाइको आशय थियो, चीन उदाउँदो शक्ति हो र अमेरिका स्थापित शक्ति, त्यसैले द्वन्द्व बढ्न नदिन दुवै पक्ष सतर्क हुनुपर्छ। हारवर्डका प्रोफेसर ग्राहम एलिसन (Graham Allison) ले यो अवधारणालाई उनको पुस्तकमार्फत लोकप्रिय बनाएका हुन् ।

(पुस्तक: Destined for War)

दोस्रो मार्ग : स्वर्गको मन्दीर (Temple of Heaven)

स्वर्गको मन्दीर (Temple of Heaven) चीनको बेइजिङ् शहरको मध्यभागको दक्षिण-पूर्व क्षेत्रमा रहेको एउटा विशाल धार्मिक र कन्फ्युसियस शैलीको भवन समूह हो। यो स्थानमा मिंग र पछि चिङ राजवंशका सम्राटहरु राम्रो बालीको कामना गर्न र विभिन्न मौसमी धार्मिक अनुष्ठान गर्न आउने गर्थे।
सन् १९९८ मा यसलाई विश्व सम्पदा सूचीमा राखियो। यसलाई वास्तुकला र प्राकृतिक डिजाइनको उत्कृष्ट नमुना मानिन्छ । जसले विश्वको एक महान सभ्यताको विकाससँग सम्बन्धित गहिरो ब्रह्माण्डीय सोचलाई सरल र स्पष्ट रुपमा देखाउँछ। यसको प्रतीकात्मक बनावट र डिजाइनले पूर्वी एशियाको वास्तुकला र शहर योजना निर्माणमा धेरै शताब्दीसम्म ठूलो प्रभाव पारेको मानिन्छ।

स्वर्गको मन्दीर (Temple of Heaven) मिंग राजवंशका योंगले सम्राटको शासनकालमा सन् १४०६ देखि १४२० बीच निर्माण गरिएको थियो। ती सम्राटले नै फोरविडेन सिटी (Forbidden City) पनि बनाएका थिए। पछि १६औँ शताब्दीमा जियाजिङ सम्राटले यसको विस्तार गरी “टेम्पल अफ हेभेन” नाम दिएका थिए। उनले बेइजिङमा सूर्य, पृथ्वी र चन्द्रमाका अन्य प्रसिद्ध मन्दिरहरु पनि निर्माण गराए। १८औँ शताब्दीमा चियानलोङ सम्राटको समयमा यसको अन्तिम मर्मत गरिएको थियो ।

रहलपहल हिन्दी शायरीमा :
नर्क का डर दिखाकर जो खुद स्वर्ग बेचते हैं,
अक्सर वही दुनिया में सबसे ज्यादा ऐश करते हैं।

 


क्याटेगोरी : विचार

प्रतिक्रिया


ताजा अपडेट