पेट्रोलमा इथानोल मिश्रणको तयारी : खेर जाने कृषि उपजबाट उत्पादन गर्न सरकारको आह्वान
काठमाडौं । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने तयारी तीव्र पारेको छ। यसका लागि स्वदेशमै उत्पादन हुने इथानोल खरिद गर्ने नीति अघि सार्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इच्छुक उत्पादकहरूलाई आवेदन दिन आह्वान गरेको छ।
नेपाल आयल निगमले जारी गरेको सूचनाअनुसार खेर जाने कृषि तथा जैविक पदार्थ प्रयोग गरी इथानोल उत्पादन गर्न सकिने कच्चापदार्थबाट उद्योग सञ्चालन गर्न सकिनेछ। चिनी उद्योगबाट निस्कने मोलासेस, नेपियर घाँस, पराल, मकैको ढोड, गहुँको छ्वालीदेखि विभिन्न कृषि अवशेषलाई कच्चापदार्थका रूपमा प्रयोग गर्न सकिने उल्लेख गरिएको छ।
त्यस्तै, सिमल तरुल (कास्साभा), खेर जाने बायोमास तथा खाद्यान्न प्रयोजनका लागि अयोग्य सडेगलेका अन्नसमेत इथानोल उत्पादनमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। तर खाद्यान्नका रूपमा प्रयोग हुने अन्नलाई भने प्रयोग गर्न नपाइने स्पष्ट पारिएको छ।
सरकारले २८ फागुन २०८२ मा राजपत्रमा प्रकाशित ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ कार्यान्वयन गर्दै यो प्रक्रिया अघि बढाएको हो। आदेशअनुसार पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्ने व्यवस्था छ, जसलाई आवश्यकता अनुसार मन्त्रिपरिषद्ले घटबढ गर्न सक्नेछ।
उक्त आदेशले स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवर्द्धन, रोजगारी सिर्जना, कृषि तथा जैविक स्रोतको उपयोग र इन्धन आयातमा निर्भरता घटाउने लक्ष्य लिएको छ।
इथानोल उत्पादन गर्ने उद्योगहरूले तोकिएको कच्चापदार्थ मात्र प्रयोग गर्नुपर्ने र उत्पादन गरिएको इथानोल अनिवार्य रूपमा आयल निगमलाई मात्र बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ।
निगमले प्रत्येक खेपको गुणस्तर परीक्षण गर्नेछ भने उत्पादक उद्योगले पनि आफ्नै प्रयोगशाला स्थापना गरी परीक्षण गर्नुपर्नेछ। गुणस्तरहीन इथानोलको खरिद–बिक्री पूर्ण रूपमा निषेध गरिएको छ।
इथानोल ज्वलनशील पदार्थ भएकाले यसको उत्पादन, भण्डारण, ढुवानी र मिश्रणका लागि आवश्यक सुरक्षा मापदण्ड छुट्टै रूपमा लागू गरिने मन्त्रालयले जनाएको छ।
आयल निगमले उद्योगहरूसँग सम्झौता गरी दैनिक आवश्यक परिमाण, तोकिएको स्थान र समयमा इथानोल आपूर्ति सुनिश्चित गर्ने व्यवस्था मिलाउनेछ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया