प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । गणतन्त्र दिवस मूल समारोहलाई यस वर्ष प्रधानमन्त्री बालेन शाहले सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले यसबारे राष्ट्रपति कार्यालयलाई औपचारिक जानकारी गराइसकेको जनाइएको छ ।
हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिन्छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने गर्छ । उक्त समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको छ ।
तर प्रधानमन्त्री बनेयता सार्वजनिक समारोहमा कमै देखिएका बालेन शाहले यसपटक पनि सम्बोधन नगर्ने निर्णय गरेका हुन् । उनले राष्ट्रपतिलाई पत्र पठाउँदै गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन आग्रह गरेको बताइएको छ ।
प्रधानमन्त्रीले पठाएको पत्रमा ‘गणतन्त्रको प्रतीक राष्ट्रपतिनै भएकाले गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिनुहुन अनुरोध’ गरिएको जनाइएको छ ।
नेपालको संविधानको धारा ६६ अनुसार राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस र सम्मतिमा काम गर्ने व्यवस्था छ । सोही संवैधानिक व्यवस्थाअनुसार यस वर्ष गणतन्त्र दिवस समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया