Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

वैशाखमा बढ्यो चामल र दालको मूल्य, तरकारीमा ३३४ प्रतिशतसम्म महँगी


काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनामा दैनिक उपभोग्य वस्तुको मूल्यमा उल्लेख्य वृद्धि भएको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको मासिक मूल्य समीक्षा प्रतिवेदनअनुसार विशेषगरी तरकारी, चामल र दालको मूल्यमा तीव्र वृद्धि देखिएको हो।

विभागले काठमाडौं उपत्यकासहित विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीका बजारको अध्ययन गर्दा तरकारीको मूल्यमा असामान्य उतारचढाव आएको निष्कर्ष निकालेको छ। प्रतिवेदनअनुसार घिउसिमी लोकलको मूल्य सबैभन्दा बढी ३३४.७८ प्रतिशतले बढेको छ। महिनाको सुरुवातमा प्रतिकिलो २३ रुपैयाँ रहेको घिउसिमी अन्त्यसम्म १ सय रुपैयाँ पुगेको देखिएको छ।

त्यस्तै तने बोडीको मूल्य २ सय ५० प्रतिशतले बढेर प्रतिकिलो १ सय ५ रुपैयाँ पुगेको छ भने लौकाको मूल्य १ सय ६५ प्रतिशतले वृद्धि भई ५३ रुपैयाँ कायम भएको छ। फर्सी हरियो लामोमा १३८.८९ प्रतिशत र काँक्रो हाइब्रिडमा १२५ प्रतिशत मूल्यवृद्धि भएको विभागले जनाएको छ।

गोलभेँडा सानो (लोकल), काउली स्थानीय, ब्रोकाउली तथा जिरीको सागजस्ता तरकारीमा समेत १ सय प्रतिशतभन्दा बढी मूल्य वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। यसले न्यून तथा मध्यम वर्गीय परिवारको भान्सामा प्रत्यक्ष असर परेको विभागको निष्कर्ष छ।

खाद्यान्नतर्फ पनि मूल्यवृद्धिको दबाब कायम रहेको छ। भारतबाट आयात हुने कच्चापदार्थको मूल्य वृद्धि र पेट्रोलियम पदार्थ महँगिँदा ढुवानी खर्च बढेकाले चामलको मूल्य उकालो लागेको जनाइएको छ। सोना मन्सुली चामल प्रतिकिलो ६४ देखि ९५ रुपैयाँसम्म बिक्री भइरहेको छ भने काठमाडौं उपत्यकामा बासमती चामलको मूल्य प्रतिकिलो १ सय ९० रुपैयाँ पुगेको छ।

दाल तथा गेडागुडीमा पनि मूल्यवृद्धि देखिएको छ। मासको दाल प्रतिकिलो २ सय ७ रुपैयाँ र रहरको दाल २ सय ७० रुपैयाँसम्म पुगेको छ। राज्माको मूल्य सहरअनुसार प्रतिकिलो १ सय ७० देखि ३ सय रुपैयाँसम्म पुगेको प्रतिवेदनमा उल्लेख छ।

मासु तथा अन्डातर्फ ब्रोइलर कुखुरा र खसीको मासुको मूल्य स्थिर देखिए पनि अन्डाको मूल्य प्रतिक्रेट ६ सय रुपैयाँ पुगेको छ। माछाको मूल्यमा पनि सामान्य वृद्धि भएको विभागले जनाएको छ।

खुद्रा बजारमा तोरीको तेल प्रतिलिटर ३ सय ६० रुपैयाँ र भटमासको तेल २ सय ९३ रुपैयाँसम्म पुगेको छ। यद्यपि भारतीय रातो आलु, घिउसिमी राज्मा, तोफु, इमली र तरबुजाको मूल्य भने स्थिर रहेको प्रतिवेदनमा उल्लेख छ।

विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्यमा पटक–पटक भएको परिवर्तनले ढुवानी खर्च बढाएको छ। वैशाख २ गते पेट्रोल प्रतिलिटर २ सय १९ रुपैयाँ र डिजेल २ सय ३७ रुपैयाँसम्म पुगेको थियो। पछि केही घटे पनि समग्र ढुवानी लागत महँगो नै रहेको विभागको भनाइ छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उतारचढाव, इरान–इजरायल द्वन्द्वका कारण उत्पन्न आपूर्ति समस्या तथा अमेरिकी डलरको विनिमय दरमा आएको परिवर्तनले पनि नेपाली बजारमा मूल्यवृद्धि गराएको प्रतिवेदनले औँल्याएको छ। वैशाखमा अमेरिकी डलरको बिक्रीदर १५२.१६ रुपैयाँसम्म पुगेको थियो।

विभागले बजार अस्थिरता नियन्त्रणका लागि बेमौसमी कृषि उत्पादन विस्तार गर्नुपर्ने तथा कृत्रिम अभाव, कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि रोक्न नियमित बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने सुझाव दिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट