Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

आर्थिक वर्ष सकिन ४५ दिन बाँकी, बजेट खर्च ६४ प्रतिशत मात्र


काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ सकिन अब ४५ दिन मात्र बाँकी रहँदा सरकारको बजेट खर्च सन्तोषजनक देखिएको छैन । कुल १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेटमध्ये १५ जेठसम्म सरकारले ६३.७६ प्रतिशत मात्रै खर्च गर्न सकेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबारसम्म कुल १२ खर्ब ५२ अर्ब २६ करोड रुपैयाँ खर्च भएको छ। चालुतर्फको खर्च भने तुलनात्मक रूपमा उच्च देखिएको छ। चालु खर्च शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म ८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ अर्थात् ७२.८५ प्रतिशत खर्च भएको छ।

तर पूँजीगत खर्चको अवस्था कमजोर देखिएको छ। ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरिएकामा हालसम्म १ खर्ब २३ अर्ब रुपैयाँ मात्र खर्च भएको छ, जुन लक्ष्यको ३०.१८ प्रतिशत हो।

यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ करोड रुपैयाँ विनियोजन गरिएकोमा २ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ खर्च भएको छ। यो लक्ष्यको ७१.६४ प्रतिशत बराबर हो।

राजस्व संकलन पनि लक्ष्यअनुसार हुन सकेको छैन। महालेखा नियन्त्रक कार्यालयले बुधबारसम्म सार्वजनिक गरेको विवरणअनुसार १० खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ, जुन वार्षिक लक्ष्यको ६९.३३ प्रतिशत हो। चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो।

हाल राजस्व संकलन र सरकारी खर्चबीच करिब २ खर्ब रुपैयाँको अन्तर देखिएको छ। सार्वजनिक खर्च व्यवस्थापनमा देखिएका संरचनात्मक समस्या, लक्ष्यअनुसार राजस्व संकलन नहुने र विनियोजित बजेट खर्च हुन नसक्ने प्रवृत्ति हरेक वर्ष दोहोरिँदै आएको छ।

यसैबीच सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ। नयाँ बजेटमार्फत सार्वजनिक खर्च प्रणाली सुधार र प्रभावकारी कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट