निरन्तर तेस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ९१ करोड
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
बिहीबार नेप्से परिसूचक ५.७३ अंक घटेर २७३८.७२ विन्दुमा झरेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब ९८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४६ स्टकको ८० हजार ४२७ पटकको कारोबारमा ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार रुपैयाँबराबरको १ करोड ९ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन घटेका उपसमूहहरुको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ७५ लाख ६८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको करिब २२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम १९ करोड रुपैयाँ नाघेको छ।
यस दिन श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको शेयरमूल्य सर्वाधिक १२.५७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन शिखर पावर डेभलपमेन्ट र एशियन हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने अन्य स्टकहरूकाे मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेकाे छ।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया